शनिबारसम्म उम्मेदवार छान्नुपर्ने

काठमाडौं । राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको सहायक निर्वाचन अधिकृतसमेत रहका सहसचिव यज्ञप्रसाद भट्टराईले राजनीतिक दललाई शनिबार कार्यालय समयभित्र छनोट भएका उम्मेदवारको सूची बुझाउन आग्रह गरिएको बताए। समानुपातिकतर्फको सिट बाँडफाँटबमोजिम प्रतिनिधि सभामा सात र प्रदेश सभामा १३ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ ।

प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २० सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकमध्ये कुनै निर्वाचन प्रणालीमा भाग लिएन । प्रतिनिधि सभाको समानुपातिकतर्फ सो दलले १३ सिट पाएको छ ।

समानुपातिकतर्फ पाएको मतको आधारमा सिट सङ्ख्या र समावेशी समूहबाट निर्वाचित हुने उम्मेदवारको सङ्ख्या निर्धारण गरी आयोगले पत्राचार गरेको हो । आयोगले पठाएको पत्रमा राजनीतिक दलले उम्मेदवार छनोट गर्ने आधारसमेत खुलाइएको छ ।

आयोगले महिला, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारू र दलितको प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार छनोट गर्न आग्रह गरेको हो । साथै अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट यथासक्दो प्रतिनिधित्व गराउनुपर्नेछ । आयोगका सहसचिव भट्टराईले शनिबार कार्यालय समयभित्र दलले बुझाएको सूचीमा केही त्रुटि भए थप दुई दिनको समय दिएर त्रुटि सच्याउन पत्राचार गरिने बताए ।

दुई पटक समय दिएर पनि त्रुटिसहितको उम्मेदवारको सूची आए त्यस्तो दलले समानुपातिकतर्फको सिट नपाउने कानुनी व्यवस्था छ । समानुपातिकतर्फको उम्मेदवारको सूची तयार गर्दा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराउनुपर्नेछ ।

निर्वाचन आयोगले मङ्गलबार समानुपातिकतर्फको गणना सम्पन्न गरेको थियो । दलले पाएको मतको आधारमा आयोगले सोही दिन सिट बाँडफाँट गरेको हो ।

आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले)ले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जसपा नेपाल र जनमत पार्टीले पाँच–पाँच सिट पाएका छन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *