गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् ।

गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिकमा नेपाली कांग्रेस ठूलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ भने एमालेले १२ सिट जित्दै दोस्रो दल बनेको छ ।

२०७४ सालको चुनावमा एमाले पहिलो दल भए पनि यसपालि कांग्रेससहित पाँचदलीय गठबन्धनले एमालेलाई दोस्रो दलमा झारेको हो । माओवादी केन्द्रले ५ सिट जित्दा स्वतन्त्रतर्फ १ सिट आएको हो । यसैगरी समानुपातिकतर्फ कांग्रेस ९, एमाले १०, माओवादी ३ र राप्रपाको २ सिट हुने अनुमान छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेस एक्लैको प्रत्यक्ष र समानुपातिक गरी २७ सिट आएपछि उसले नेतृत्वमा स्वतः दाबी गरेको छ । हाल पनि कांग्रेसकै नेतृत्वमा गण्डकी सरकार चलेको छ । समानुपातिक जोड्दा एमालेको कुल २२, माओवादीको ८ र राप्रपाको २ सिट र स्वतन्त्र दीपक मनाङ्गे (हाल एकीकृत समाजवादीमा प्रवेश) १ सिट छ ।

एकल बहुमत नहुँदा ठूलो पार्टी कांग्रेसले एक्लै सरकार बनाउन सक्दैन । उसले गठबन्धनकै अर्को दल माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन सक्ने प्रवल सम्भावना छ । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि कांग्रेसले अरु ४ सिट चाहिन्छ । माओवादीको सिट सहित जोड्दा सहजै बहुमत पुग्छ ।

कांग्रेस नेतृत्वको सरकार बन्दा सुरेन्द्रराज पाण्डे नेतृत्वमा सरकार बन्ने आकलन छ । गठबन्धनभित्रै कांग्रेस र माओवादीले सुरेन्द्रलाई गोरखा क्षेत्र २९२० बाट भावी मुख्यमन्त्रीको रुपमा चुनाव लडाएका हुन् । तर, चुनावी परिणाम हेर्दा कांग्रेसबाट अपेक्षाकृत भोट ट्रान्सफर नभएकोमा माओवादी असन्तुष्ट छ ।

एमालेले बामगठबन्धनको सरकार बनाउन सक्ने सम्भावना पनि प्रवल छ । प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकको १० सिटसहित २२ सिट हुँदा माओवादी र राप्रपासँग मिलेर सरकार बनाउन सक्छ । एमाले नेतृत्वको सरकार बने मुख्यमन्त्रीमा दाबी खगराज अधिकारीको हुनेछ । पूर्व गृहमन्त्री बनिसकेको खगराज कास्की क्षेत्र १९१० बाट प्रदेशसभाको चुनाव जितेका हुन् । उनी २०७४ सालको चुनावमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकोमा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई संघमा पठाएर उनी मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेश ओर्लिएका हुन् । आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *