‘मुटु’ नभएको गठबन्धन

काठमाडौं । गतवर्षको साउन १५ गते दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा दार्चुलाका जयसिंह धामी बेपत्ता भए । उनले अवस्था अहिलेसम्म अज्ञात छ । सरकारले त्यस घटनालाई सुरुमा सामान्य रुपमा लियो । तर संसदमा प्रमुख विपक्षी दल नेकपा एमाले तथा विभिन्न संघ संस्थाले त्यसको व्यापक विरोध गरेपछि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्यो ।

समितिले प्रतिवेदन गृहमन्त्रीलाई बुझायो । प्रतिवेदन सार्वजनिक त गरिएको छैन । तर गृह मन्त्रालयले विज्ञप्ति जारी गरी भारतीय सीमा सुरक्षा बलको उपस्थितिमा घटना भएको जनाएको थियो । विज्ञप्तिमा भनिएको थियो,‘समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ।’

प्रतिवेदनमा त यस्तो भनियो तर भारतीय पक्षले दोषीलाई कारबाही गर्यो गरेन वा धामीका परिवारलाई भारतीय पक्षले क्षतिपूर्ति दियो दिएन केही कुरा अहिलेसम्म बाहिर आएको छैन । नेपाल सरकारले चाहिँ धामीको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । यस घटनापछि आगामी दिनमा यस्ता घटना हुन नदिने भारतीय पक्षबाट कुनै त्यस्तो प्रतिवद्धता आएको पनि सुनिएको छैन । बरु यसवर्ष अर्को फेरि अर्को घटना घटेको छ ।

गत कात्तिक महिनामा व्यास गाउँपालिका वडा नम्बर २ थी बाट दार्चुला आउने क्रममा नेपालतिरको बाटोमा हिँडिरहेका ९ वर्षीय बालक पवन महराको मृत्यु भयो । भारतले सडक निर्माण गरिरहेको वेला ढुंगा उछिट्टिएर नेपालतिरको बाटोमा हिँडिरहेका महराको मृत्यु भएको हो । थी भन्ने ठाउँबाट दुम्लिङतर्फ आफ्ना बुवा र बहिनीसँगै आइरहेका पवनको सीमापारि भारतबाट आएको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको थियो । भारत पिथौरागढ जिल्लाको धार्चुलाअन्तर्गत तवाघाट–लिपुलेक सडकखण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै पूर्वसूचना नदिई विस्फोट गराउँदा उक्त घटना भएको हो । घटनामा भारतीय पक्षले माफी माग्यो । भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गरायो ।

गत आइतबार फेरि दार्चुलामा यस्तै विवाद भएको छ । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भयो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भए । सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए । भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएपछि नेपालीले त्यसको विरोध गरेका हुन् । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन् ।

सीमामा यस्तो तनाव भइरहेका बेला सोमबार सत्तारुढ चार दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षरमा संयुक्त विज्ञप्ति जारी गरियो । तर विज्ञप्तिमा सीमामा नेपाल र भारतीय पक्षबीच भएको विवादकाबारेमा एक शब्द पनि खर्च गरिएन ।

महाकाली नदीमा तुइन तर्दातर्दै तुइन काटिन्छ । जयसिंह धामी महाकाली नदीमा हराउँछन् सँधैका लागि । त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहँदा गरिएको बिष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले । तर यी कुनै पनि कुरामा नेपाल सरकारले देख्ने गरी कहीँ कतै केही गरेको देखिदैन । वर्षौंको यो निरिहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ?

भारतीय पक्षले एकतर्फी तटबन्ध बनाउन थालेपछि दार्चुलास्थित नेपाल-भारत सीमामा तनाव 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *