निकुञ्जबाहिरका वन क्षेत्रमा गैँडा असुरक्षित

भरतपुर। चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो।

खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ।

“खाग र खुर नभएको गैँडाको अस्थिपञ्जर मात्रै भेटिनुले चोरी सिकारीले मारेको भन्ने त देखिन्छ नै तर धेरै महिनाअघि गैँडा मारिँदा पनि संरक्षणकर्ताले भेउसम्म नपाउनु अचम्मको कुरा हो”, गैँडाविज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादव बताउन्छन्। उनले निकुञ्जबाहिरका क्षेत्रमा पछिल्लो समय गैँडा मर्ने क्रम बढिरहेकाप्रति चिन्ता व्यक्त गरे।

“गत असोज २७ गते निकुञ्जबाहिर सौराहा नजिकै मध्यवर्ती क्षेत्रमा विद्युतीय धरापमा पारेर गैँडा मारिएको छ”, उनको गुनासो छ, “यसरी नै गैँडा मारिँदै जाने हो भने हाम्रा गैँडा सकिन कति समय लाग्छ र ?”

चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्ज बाहिरी क्षेत्रमा आइतबारसहित गत साउनयता चारवटा गैँडा मरेका भेटिएका छन्। तीमध्ये दुईवटा मारिएका हुन्। एक वर्षअघि मङ्सिर २७ गते चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा भेटिएको गैँडा पनि विद्युतीय धरापमै पारेर मारेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। मरेका वन्यजन्तुको पोस्टमार्टम गर्ने निकुञ्जका पशु चिकित्सक डा। विजय श्रेष्ठ यसरी धमाधम गैँडा मारिँदै जानु संरक्षणका लागि चुनौती भएको बताउन्छन्। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *