सरकार बनाउन ‘शक्ति’को खोजी

काठमाडौं । नयाँ सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन साथ दिने शक्तिको खोजीमा छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दुवै दल आबद्ध गठबन्धनले सरकार बनाउन सक्ने हैसियत नपाउने देखिएको हो ।

सरकार बनाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित भएका १ सय ६५ र समानुपातिकतर्फबाट निर्वाचित बनेर आएका १ सय १० गरी २ सय ७५ सांसदको बहुमत अर्थात् १ सय ३८ सांसद आवश्यक पर्छ । कांग्रेसले बिहीबार रातिसम्म प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५५ सिट जितेको छ । यस्तै, समानुपातिकतर्फको मतअनुसार ३२ सिट कांग्रेसले पाउने देखिन्छ । यो सबै गर्दा कांग्रेसको ८७ सिट हुने देखिन्छ ।

यसैगरी, माओवादी केन्द्रको प्रत्यक्षमा १७ सिट सुरक्षित भइसकेको छ भने समानुपातिकमा १४ सिट पाउने अवस्था छ । दुवैतर्फ गरी माओवादी केन्द्रको ३१ सिट हुने अवस्था छ । यसैगरी, गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ भने समानुपातिकतर्फ उसले थ्रेस होल्ड कटाउँदा मात्रै सिट पाउने अवस्था छ ।

यसैगरी, गठबन्धनकै अर्को दल लोसपाले प्रत्यक्षतर्फ चार सिट सुरक्षित गर्दा समानुपातिकतर्फ भने सुरक्षित देखिँदैन । राष्टिय जनमोर्चाले प्रत्यक्षतर्फ एक सिट जितेको छ । बिहीबार रातिसम्म प्राप्त परिणामअनुसार सत्ता गठबन्धनसँग १ सय ३३ सांसद हुने देखिन्छ । सत्ता गठबन्धनलाई सरकार बनाउन ५ सिट अपुग छ ।

यसैगरी, अर्को गठबन्धनको नेतृत्व गरेको दल एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ भने समानुपातिकमा उसले ३४ सिट पाउने अवस्था बिहीबार रातिसम्मको छ । सबै गर्दा एमालेको ७८ सांसद पुग्ने देखिन्छ । यस्तै, राप्रपाले प्रत्यक्षतर्फ सात सिट सुरक्षित गर्दा समानुपातिकमा सात सिट नै पाउने अवस्था छ । राप्रपाको दुवैतर्फ गर्दा १४ सिट हुन सक्छ ।

जसपाले प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकमा पाँच सिट आउने देखिन्छ । दुवैतर्फ गर्दा जसपाको १२ सिट हुन सक्छ । यो सबै गर्दा एमाले नेतृत्वको गठबन्धनसँग १ सय १२ सांसद हुने अवस्था देखिएको छ । विपक्षी गठबन्धनलाई सरकार बनाउन ३४ सांसद अपुग हुन सक्छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *