१२ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले बुधबार सूचना प्रकाशित गरी ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो ।

कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोसी जेभी काठमाडौँलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालय बुटवलले यो ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो ।

रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको काममा ढिलाइ गर्ने हाइग्रिवा/सिद्धि साँई प्रकाश जेभीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक देपेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान छन् ।

त्यस्तै, हेटौँडा महानगरपालिकाको सिफारिसमा भरतपुर चितवनको हाइवे कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको छ । नारायण सुवेदी मुख्य सञ्चालक भएको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

शहीद गङ्गालाल हृदय केन्द्र बाँसबारीको सिफारिसमा काठमाडौँको विधि बिल्डर्स प्रालि पनि कालोसूचीमा परेको छ । विप्लव पोख्रेल सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

खलङ्गा जाजरकोटको साइबाबा एन्ड तारा कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेको छ । सञ्जयाकुमारी राना (शाह) सञ्चालक रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न टोखा नगरपालिकाले सिफारिस गरेको थियो ।

त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा जुम्लाको अनुकूल निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीको सञ्चालक तिलबहादुर भण्डारी छन् ।

काठमाडौँको नयाँ बानेश्वरमा कार्यालय रहेको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न पर्यटन विकास आयोजना हेटौँडाले सिफारिस गरेको थियो ।

प्रेमप्रसाद अधिकारी सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

गुर्भाकोट नगरपालिका–४ सुर्खेतमा रहेको प्रभु निर्माण सेवालाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । रेशमबहादुर शाह सञ्चालक रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले सिफारिस गरेको थियो ।

उत्तरगया गाउँपालिका, रसुवाको सिफारिसमा सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक सिद्धिबाबु रेग्मी छन् ।

कपिलवस्तु नगरपालिकाको सिफारिसमा रुपन्देहीको एसएसके निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक सफीउर्रहमान अन्सारी छन् ।

त्यसैगरी, कृषि विकास निर्देशनालय डोटीको सिफारिसमा कैलालीको सुर्मादेवी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीको मुख्य सञ्चालक मीनाकुमारी शर्मा कोइराला हुन् ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहको सिफारिसमा नीलगिरि/नेसनल/क्यानोन जेभीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

नीलगिरि निर्माण सेवा प्रालिका सञ्चालक युवराज डाँगी, नेसनल डेभलपमेन्ट सेवा प्रालिका सञ्चालक धनकुमार थापा र क्यानोन कन्स्ट्रक्सन प्रालिका सञ्चालक गौरव पुडासैनी रहनुभएको छ । यी तीनवटै कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउनेछैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *