पुगेन घरघरमा मतदाता शिक्षा

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखी मतदाता शिक्षालाई प्रभावकारी बनाउने र बदर मत घटाउने भन्दै घरदैलो सुरु गरे पनि मतदाता शिक्षा प्रभावकारी भएको देखिँदैन। आयोगले मतदाता शिक्षाका नाममा करोडौं खर्च गरे पनि प्रभावकारी हुन नसक्दा आइतबार हुने निर्वाचनमा बदर मत बढ्न सक्ने सम्भावना छ ।

तनहुँ, गोरखा र कास्की जिल्लाका पालिकाहरूमा गरिएको ‘मतदाता शिक्षामा सहभागिता कार्यक्रमको अवलोकनबाट यस्तो पाइएको हो। गोरखा नगरपालिका–७ मान्द्रे ढुंगाको एकता टोल पुग्दा दुईजना स्वयंसेविकाले सामुदायिक भवनमा टोलका १० जना मतदाता जम्मा गरेर मतदान गर्ने तरिका सिकाइरहेका थिए। सो वडामा २ हजार ८७८ मतदाता छन्।

अति न्यून संख्यामा मतदाताको सहभागिता रहेको भन्दै स्वयंसेविका सुमित्रा श्रेष्ठले स्वीकार गरिन्। बिहान तथा साँझ मतदाता शिक्षाको समय मिलाइए पनि स्थानीयको सहभागिता जुटाउन कठिन भएको उनको गुनासो थियो। कात्तिकमा मानिसहरू खेतीकिसानीमा व्यस्त रहने भएकाले पनि सो कार्यक्रममा न्यून सहभागिता देखिएको उनको भनाइ छ। भोट कसरी हाल्ने ? कसरी मत बदर हुन्छ ? यी र यस्ता प्रश्नमा केन्द्रित रहेर मतदाता शिक्षा दिइएको उनले सुनाइन्। गत वैशाख ३० को स्थानीय तहको निर्वाचनमा जटिल मतपत्र हुनुका साथै घरदैलो गरेर मतदाता शिक्षा नदिइएकाले मत धेरै बदर भएको जनगुनासो बढेको थियो। त्यसैले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आयोगले स्थानीय तहलाई जिम्मा लगाएर मतदाता शिक्षा दिइरहेको छ।

शिक्षित र पेसाकर्मीहरूले मतदान गर्न आउँछ भन्दै सो कार्यक्रममा सहभागिता जनाएका छैनन्। पढेका र बुझेकालाई पनि मतदाता शिक्षा आवश्यक रहेको श्रेष्ठको भनाइ छ। ‘मान्छेहरू भेट्नै गाह्रो र समय थोरै भएकाले मतदाता शिक्षा सबैको घरघरमा पुर्‍याउन कठिन भएको अर्की स्वयंसेविका कालिका पाण्डेयले बताइन्। एकै दिनमा दुईवटा टोलका मानिस जम्मा गरेर भोट हाल्ने तरिकाबारे सिकाइरहेको उनले बताइन्। आयोगले आफैं घरदैलो गरेर भन्दा स्थानीय युवा, राजनीतिक पार्टीका कार्यकर्ता र विद्यार्थीहरू परिचालन गर्न सके मात्रै मतदाता शिक्षा घरदैलोसम्म पुग्छ,’ स्थानीय खड्क श्रेष्ठले भने।

मतदाता शिक्षामा चारवटा फरकफरक मतपत्रमा कुनमा कसरी मत हाल्ने, कसरी पट्याउने, बदर हुन नदिन के गर्ने, मत किन हाल्ने जस्ता विषयमा मतदातालाई सिकाइएको स्वयंसेविकाले बताएका छन्। गत वैशाख ३० को स्थानीय निर्वाचनमा घरदैलो नगरेको आयोगले यसपटक भने मतदाता शिक्षाका लागि स्वयं पालिकालाई नै जिम्मा दिएको छ।

पालिकाका वडामा जम्मा २ हजारसम्म मतदातालाई एकजना स्वयंसेविकाले सिकाउनुपर्ने छ। कात्तिक १७ गतेदेखि सुरु मतदाता शिक्षा मंसिर १ गते सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *