सिन्धुलीमा पुरानै उम्मेदवार, पुरानै प्रतिस्पर्धा

काठमाडौं। सिन्धुली–१ मा यसपटक प्रमुख दुई राजनीतिक दलको प्रतिस्पर्धा निकै रोचक बनेको छ। यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले पुरानै उम्मेदवारलाई दोहर्‍याएका छन्। नेपाली कांग्रेसका श्याम घिमिरेले र नेकपा (एमाले)का प्रदीप कुमार कटुवाल क्षेत्री (केसी)ले २०७४ मा झैं यसपटक पनि प्रतिस्पर्धा गर्दैछन्।

त्यतिबेला यी दुई नेताले सिन्धुली १(ख)मा प्रदेश सभाको निर्वाचनका लागि प्रतिस्पर्धा गरेका थिए। यसपटक प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्दैछन्। त्यतिबेला कटुवालले १६ हजार ६ सय १२ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका घिमिरेले भने ११ हजार ९सय ५५ मत प्राप्त गरेका थिए। यिनै प्रतिद्वन्द्वी अब एक तह बढेर प्रतिनिधिसभाकालागि प्रतिस्पर्र्धा गर्दैछन्।

२०७४ मा कटुवालाई माओवादीले साथ दिएको थियो। यसपटक माओवादीले घिमिरेलाई साथ दिएको छ। त्यसैले यो पटक कटुवालको लागि घिमिरे सहज प्रतिस्पर्धी होइनन। त्यसमा पनि कटुवाल परीक्षण भएका उम्मेदवार हुन भने घिमिरे नयाँ अनुहार हुन। कटुवाल पोहर साल ४९ दिन प्रदेश स्वास्थ्यमन्त्रीसमेत भएका थिए।

यी दुबै नेताले यसपटक आफू विजयी हुने दावी गरेका छन। ‘मैले गरेको काम नै चुनाव जित्ने आधार हो। जिल्लामा बाटो,सडक विजुली पु¥याएका छौ’कटुवालले भने, ‘२०७४मा ७ हजारको फरकले जिते। यसपटक १० हजारको फरकले जित्छु।’ कांग्रेस र माओवादीको गठबन्धनले आफूलाई केही फरक नपर्ने उनको भनाइ छ। ‘उनीहरूको पार्टीसँग गठबन्धन छ। मेरो जनतासँग गठबन्धन छ,’ कटुवालले भने।

यता घिमिरे पनि चुनाव जित्नेमा ढुक्क छन्। ‘२०७४मा चुनाव जितेका अनुहारले सिन्धुलीमा केही काम गरेनन। जनता सन्तुष्ट छैनन। यसपटक जनताले नयाँ अनुहारलाई परीक्षण गर्न खोजेका छन्,’ घिमिरेले भने, ‘यो पटक सिन्धुली–१ मा २०७४ को इतिहास उल्टिन्छ। यो पक्का हो।’ यहाँ कांग्रेस र माओवादीका बागी छैनन्। गठबन्धनमा आबद्ध दलहरू एक ढिक्का भएर सहयोग गरेकोले पनि आफू विजयी हुने आधार खडा भएको घिमिरेको भनाइ छ। ‘हामी एक ढिक्का भएका छौ। एक ढिक्का भएर प्रचार गरिरहेका छौ। अहिले हाम्रो पक्षमा माहोल बढेको छ,’ घिमिरेले भने।

सिन्धुली–१ मा कांग्रेस र एमालेबाहेक अरू उम्मेदवारी त्यति चर्चामा छैनन्। जनता समाजवादी पार्टीबाट सोमनाथ घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शालिगराम माझी, नेपाल मजदुर किसान पार्टीबाट चित्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेनुका ठकुरीले यस क्षेत्रमा उम्मेदवारी दिएकी छन्। डम्मर विक, कृष्णहरि पौडेल, रामहरि बुढाथोकीले स्वतन्त्र उममेदवारी दिएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमालेका गणेश पहाडी विजयी भएका थिए। उनले ३२ हजार ५ सय २९ भोट ल्याएका थिए। प्रतिस्पर्धी कांग्रेसका प्रेमचन्द्र दाहालले २२ हजार ३ सय ८९ भोट ल्याएका थिए।

गत स्थानीय तहमा वडा अध्यक्ष पदमा पार्टीहरूले ल्याएको भोटलाई आधार मान्ने हो भने सिन्धली–१ मा गठबन्धन अगाडि छ। स्थानीय तहको निर्वाचनमा सिन्धुली १ नेपाली कांग्रेसको भोट २९ हजार ८९ छ। यसैगरी एमालेको २८ हजार ६ सय २०, माओवादीको १३ हजार ३सय ६९, राप्रपा ३ सय ३२ तथा नेकपा (एस) को १ सय ८७ भोट छ।

प्रदेशसभाको हकमा सिन्धुली १ (क)मा एमालेबाट सुवास देवकोटा, माओवादीबाट मात्रिका प्रसाद भट्टराई तथा राप्रपाबाट रामनारायण अधिकारीले उम्मेदवारी दिएका छन्। यसैगरी सिन्धुली १ (ख)बाट एमालेबाट कुमार कार्की तथा नेपाली कांग्रेसबाट रामकुमार पहाडीले उम्मेदवार दिएका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *