काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि चुनावमा उठ्ने चर्चा चलिरहँदा नेकपा एकीकृत समाजवादी (नेकपा एस) की सचिव रामकुमारी झाँक्री गृह जिल्ला गुल्मी पुगेकी थिइन्।
उनले सुरुमै ‘घिउ जहाँ पोखिए पनि भातमा’ भनेकी थिइन्। उनको यो भनाइ प्रतिस्पर्धीसँग एकखालको सद्भाव थियो। आफूले जिते पनि एमालेका गोकर्णराज विष्टले जिते पनि खासै फरक नहुने झाँक्रीको भनाइको अर्थ थियो।
तर चुनावी अभियान सुरु भएपछि परिवेश बदलिएको छ। पहिले एउटै पार्टीमा हुँदाको सुमधुर सम्बन्ध चुनावले बदलिदिएको छ। यसअघिका निर्वाचनमा विष्टलाई जिताउन लागिपरेकी झाँक्री अहिले प्रतिस्पर्धी छिन्।
पहिला एउटै पार्टीमा बसेर काम गरेका उनीहरू अहिले फरकफरक कित्तामा उभिएका छन्। यसअघिका निर्वाचनमा विष्टलाई दिलोज्यानले जिताउन हिँडेकी झाँक्री अहिले आफैं जित्न लागिपरेकी छन्। गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६, २०७० र २०७४ सालमा चुनाव जितेका विष्ट मन्त्री भइसकेका छन्।
दलगत रूपमा एमाले र नेकपा एसबीच बोली बाराबारको अवस्था छ। वैचारिक रूपमा खासै फरक नभएका तर दलीय रूपमा दुई कित्तामा उभिएका एमाले र नेकपा एस एकअर्काका कट्टर विरोधी देखिएका छन् चुनावी मोर्चामा।
दलीय रूपमा फरक भएपछि व्यक्तिगत सम्बन्धमा पनि केही असर पर्छ नै। चुनाव राजनीतिक प्रतिस्पर्धा भए पनि झाँक्री र विष्टबीच पहिलेजस्तो सुमधुर सम्बन्ध छैन अहिले। पार्टी फरक हुनुले उद्देश्य, कार्यक्रम, गन्तव्य, प्रवृत्ति सबै फरक परेका छन्।
निजी सम्बन्धको कुनै अर्थ नहुने उम्मेदवार स्वयं बताउँछन्। एउटै क्षेत्रबाट उम्मेदवार हुँदा मित्रवत् प्रतिस्पर्धाबाहेक अरू हुन नसक्ने उनीहरू बताउँछन्। प्रतिनिधिसभा सदस्यका लागि गुल्मी २ बाट एमालेका विष्ट, नेकपा एसका झाँक्रीसहित १३ उम्मेदवार मैदानमा छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४८ वर्षीय युवराज घिमिरे, हाम्रो नेपाली पार्टीका ५० वर्षीय रामलाल पाण्डे, मंगोल नेसनल अर्गनाइजेसनका ४५ वर्षीय पदम थापा मगर, स्वतन्त्रबाट २७ वर्षीय तेजेन्द्रबहादुर महत, २८ वर्षीय नारायण भट्टराई, ३६ वर्षीया कमला पुन, ३० वर्षीय देवराज पाण्डे, २६ वर्षीय अमरबहादुर कार्की, ६२ वर्षीय केशरबहादुर थापालगायत चुनावी मैदानमा छन्। आजको नागरिक दैनिकमा खवर छ ।
