भक्तपुर । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतले नेपाललाई श्रीलंका बनाउने कि सिंगापुर बनाउने भन्ने कुरा यसपालीको निर्वाचनले प्रष्ट पार्ने बताएका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नं २ का संघीय संसदका उम्मेद्वार बस्नेतले एमालेले जिते देश सिंगापुरको बाटोमा जाने र गठबन्धनले जिते देश श्रीलंकाको बाटोमा जाने बताए । उनले भने, ‘नेपाललाई हामी श्रीलंका बनाउने कि सिंगापुर’ बस्नेतले कार्यकर्ता माझ भन्नुभयो ‘त्यस कारण हामीले सुझबुझ प्रयोग गरौं । एमालेलाई मत दिएर देशलाई सिंगापुरको बाटोमा हिडाऔं ।’
बस्नेतले निर्वाचनका लागि एमालेले चारवटा रणनीति अपनाउनु पर्ने जनाएका छन् । कार्यकर्ताहरुलाई निर्देशन दिंदै उनले पहिलो चरणमा प्रत्येक मतदाताको घरघरमा एमाले कार्यकर्ता पुग्नुपर्ने बताए ।
दोस्रो चरणमा टोलटोलमा भेलाको आयोजना गर्नुपर्ने उनको धारणा छ । ‘यस्तो बेलामा उम्मेद्वार सकेसम्म पुग्ने पुग्न नसके स्थानीय नेताले उम्मेद्वारको प्रतिनिधीको रुपमा पार्टीका धारणा राख्नुपर्दछ ’ बस्नेतले भने ।
तेस्रो चरणमा उम्मेद्वार सहितको घरदैलो कार्यक्रम र चौथो चरणमा आक्रमक रुपमा विपक्षीको भण्डाफोर गर्नुपर्ने बस्नेतले बताए । यस चरणमा पार्टी र उम्मेद्वारलाई लागेका आरोपको खण्डन र विपक्षी उम्मेद्वारको भण्डाफोर गर्न बस्नेतले कार्यकर्तालाई निर्देशन दिएका छन् ।