अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको शानदार जीत

काठमाडौं । बङ्गलादेशविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । मंगलबार बेलुकी भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजीत गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई जीत दिलाउन अन्जन विष्टले ह्याट्रिक पुरा गरे । बंगलादेशको लागि सजजाद हुसेनले एक गोल फर्काए । नेपालले पहिलो हाफमै तीन गोल गरेको हो । १८ औं मिनेटमा बिमलको फ्रिकिकमा अन्जनले हेडर गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा तेजले हानेको प्रहारलाई विपक्षी गोलरक्षक अनिसुर रहमानले बचाएपनि रिबाउन्डमा आएको बलमा अन्जनले व्यक्तिगत गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका हुन् ।

३८ औं मिनेटमा विशाल राईको फ्रिकिकमा अन्जनले हेडमार्फत गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गर्दा नेपालले खेलमा ३-० गोलको अग्रता लिएको थियो । यस गोलसँगै अन्जन नेपालबाट सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा अनिल गुरुङ र भारत खवाससँगै तेस्रो स्थानमा रहेका छन् । उनीहरुले समान १० गोल गरेका छन् ।

५५ औ मिनेटमा हुसेनले गोल गर्दै बंगलादेशलाई ३-१ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा नेपाल ३-१ गोलले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *