चिनियाँ जनकंग्रेसका अध्यक्ष आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु आज नेपाल भ्रमणमा आउँदै छन् । चारदिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष लीले उच्चस्तरीय भेटघाट गर्ने कार्यसूची रहेको छ ।

भ्रमणका क्रममा सभामुख सापकोटा र लीबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत छ । संसद् सचिवालयका अनुसार भ्रमणमा संसदीय अनुभव साटासाट र प्राविधिक सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भ्रमणमा दुई देशका सभामुखबीच द्विपक्षीय वार्ता, छलफल हुने र त्यहीँबाट सम्झौताको निष्कर्ष निकालिने बताए । परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको र टेबुल वार्तामै सम्झौता हुने पाण्डेले बताए । त्यस्तै, संसद्को प्रभावकारिता र रचनात्मक विकासका लागि पनि थप चिनियाँ सहयोगको घोषणा हुनेछ ।

भ्रमणमा लीले समकक्षी सापकोटाबाहेक प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ । मंगलबार बिहान शिष्टाचार भेटको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *