काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती नेपाली कांग्रेसले आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ । जहानियाँ राणा शासनको अन्त गर्न कोइरालाको ठूलो योगदान छ । वीपीको आदर्श थियो,‘सार्वभौमसत्ता (राष्ट्रियता) बलियो नभएसम्म देशका कुनै पनि उपलव्धी बेकार हुन्छन्, राष्ट्रियता बलियो बनाउनका लागि शासन सत्तामा जनसहभागिता चाहिन्छ, गरिव वर्गको उत्थानका लागि राज्यले विशेष संरक्षण दिनुपर्छ ।’
तर कांग्रेसले बिपीको त्यो आदर्शलाई बिर्सिएको भन्दै स्वयं कांग्रेसका नेताहरुनै चिन्तित देखिएका छन् । बिपीको त्यही योगदानलाई बेचेर अहिले नेपाली कांग्रेसले अहिले त्यसैको ब्याज खाइरहेको उनीहरुको आरोप छ । बिपी कोइरालाका चिकित्सकसमेत रहेका पूर्वराष्ट्रपति डा. रामबरण यादवले त कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु केही नभएको टिप्पणी गरेका छन् । पूर्वराष्ट्रपति यादवले काँग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताएका छन् । उनले अरु पार्टीसँग गठबन्धन गरी कांग्रेस चुनावमा जान लागेको भन्दै आपत्तिसमेत जनाएका छन् ।
उनले काँग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए । उनले भने, ‘कांग्रेसीले बिपीले उहाँको बेलामा जति महाधिवेशनहरुमा बोल्नुभएको छ, त्यो महत्वपूर्ण छ । बिपीको जेल डायरी, बिपीको आत्मवृतान्त, बिपीले बोलेका राजनीतिका बारेमा विषयहरु कांग्रसीलाई पढ्नलाई फुर्सद छैन । सोझै काँग्रेस छिर्छन् । किनकी टिकट किन्नेलाई कांग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, कांग्रेसीमा लागेकालाई फुर्सद नै छैन । पैसामा टिकट बेचिरहेको छ । सुन्नुभएको होला तपाईहरुले समानुपातिकमा टिकट बिक्री भएको छ । वडाको टिकट बिक्री भएको छ । पालिकाको टिकट बिक्री भएको छ ।’
हो पूर्वराष्ट्रपति यादवले भनेजस्तौ यतिबेला कांगेस बिपीको विचारबाट चुक्दै गएको छ । सत्तामा बसिरहन त्यस्तो पुरानो पार्टी अन्य दलसँग गठबन्धन गरी चुनावमा जान थालेको छ । बिपीले भनेका थिए राष्ट्रियता बलियो नभएसम्म देशका कुनै पनि उपलव्धी बेकार हुन्छन् । तर कांग्रेसले त्यसबारे कुनै चिन्तन नै गर्न छाडेको छ । नागरिकता विधेयकका बारेमा मुलुकमा ठूलो विवाद र जनमत विभाजित भएको छ । ठूलो जनमत नागरिकता विधेयकको विपक्षमा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरी यसका केही प्रावधान सच्याउन दिएको सुझाव यतिबेला गठबन्धनको सरकारले हुबहु प्रमाणीकरण गरी फेरि राष्ट्रपति समक्ष पठाएको छ । सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । विधेयक विवादित भएपछि यसलाई अगाडि बढाउनु हुँदैनथ्यो नि । यसमा देउवाले बिपीको विचारमा ध्यान दिए त ? नागरिकता विधेयक कसरी आयो भन्ने बुझ्नु पनि जरुरी छ ।
तीन वर्षसम्म संसदको राज्य व्यवस्था समितिमा छलफल भएको विधेयक अगाडि नबढाएर सरकारले त्यो विधेयक एकाएक फिर्ता लियो । अनि नयाँ विधेयक संसदमा दर्ता गरायो । त्यसै मेसोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमण गए । उनी नेपाल फर्के लगत्तै सरकारले विधेयक संसदमा दर्ता गर्यो । उता रिझाउन यो विधेयक ल्याइएको भन्ने आरोप सरकारमाथि छ । विधेयकमा आपत्तिको विषय के छ भने अंगीकृत नागरिकतामा केही प्रावधान राखिएन भन्नेमा छ । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी बिपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएका थिए । बिपीलाई आफू मारिन पनि सक्छु भन्ने लागेको थियो । तर उनी राष्ट्रियता कमजोर भयो भने देश नरहन सक्छ भनी ज्यानको पर्वाह नगरी स्वदेश फर्किए । तर अहिले त्यही कांग्रेसले राष्ट्रियता कमजोर पर्ने गरी यस्तो विवादित नागरिकता विधेयक ल्याएको छ । रोक्नु पथ्र्यो नि त प्रधानमन्त्रीले । बिपीको नाम लिने अनि राष्ट्रियता कमजोर पार्ने खेलमा लाग्ने ?
त्यस्तै बिपीले राष्ट्रियता बलियो बनाउनका लागि शासन सत्तामा जनसहभागिता चाहिन्छ भनेका छन् । तर कांग्रेस अन्य दलसँग गठबन्धन गरी चुनावमा जाने तयारीमा छ । कांग्रेसले जनसहभागिता भनेको अन्य दलबाट बढी भन्दा बढी सिट आफ्नो भागमा लिने र पैसा दिनेलाई टिकट दिने बुझेको छ । यो कुरा पूर्वराष्ट्रपति यादवका कुराबाट पनि स्पष्ट हुन्छ । तर बिपीले भनेको त पछाडि पारिएका र तल्लो तहका नागरिकलाई शासन सत्तामा ल्याउने भनेको हो नि । तर कांग्रेस यतिबेला यी सब कुराबाट च्यूत भइसकेको छ । उसलाई सत्तामा कसरी रहिरहने भन्ने शिवाय केही छैन । यसले राष्ट्रियता बलियो होइन पक्कै कमजोर बनाउँदै लैजान्छ । बिपीलाई पार्टीको संस्थापक नेता मान्ने कांग्रेसले उनको विचारलाई बिर्सदै जाने हो भने बिपीको नाम बेचेर नहिँड्नु नि । बिपी जयन्ती मनाउने, उनकाबारेमा एकदिन गुणगान गाउने तर काम भने उनका विचार भन्दा विपरीत गर्दा विपीको सम्मान कसरी भयो र ?
