सिट बाँडफाँटको परिणाम आज आउन सक्छ : सञ्चारमन्त्री

काठमाडौं। सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुगेका हुन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू सिट बाँडफाँटको विषयमा निरन्तर छलफलमा रहेका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले बिहान ११ बजे बैठक बस्ने र निर्णय सार्वजनिक गर्ने बताए । उनले भने, “हामी निष्कर्षको नजिक पुगेका छौँ। बैठकमा गम्भीर रूपले छलफल भयो। तपाईंको प्रश्न हुनसक्छ, छलफल सकारात्मक भयो, परिणाम किन सकारात्मक भएन भन्ने। परिणामको नजिक पुगेका छौँ।”

मन्त्री कार्कीले सिट बाँडफाँट निश्चय नै चुनौतीपूर्ण छ भन्दै बिहीबार बस्ने बैठकपछि निर्णयमा पुगेर सार्वजनिक गर्ने जानकारी दिए। उनका अनुसार सिट बाँडफाँटको विषयमा विभिन्न खाकामा छलफल भएको छ। उनले भने, “कुन मोडालिटी प्रभावकारी र न्यायोचित हुन्छ, त्यसलाई दृष्टिगत गरेर राजनीतिक निर्णय गर्छौं।” अन्य राजनीतिक दलहरूलाई गठबन्धनमा सरिक गर्दा सिटको विषयमा कुरा हुने भएकाले त्यस विषयलाई पनि ध्यान दिएर छलफल भएको मन्त्री कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *