१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ ।

निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान कार्यालयले संख्या र बजेटसहितको विवरण गृह मन्त्रालयलाई बुझाएको थियो । यसपछि गृहले अर्थ मन्त्रालयसँग स्वीकृति मागेको थियो ।

अर्थ मन्त्रालयले गत आइतबार माग भएभन्दा ५ हजार संख्या कम गरेर १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएसँगै भर्ना प्रक्रिया अघि बढ्ने भएको हो ।

गृह मन्त्रालय प्रवक्ता फणीन्द्रमणि पोखरेलले १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयबाट स्वीकृति आएको जानकारी दिए ।

‘१ लाख १५ हजार म्यादी भर्नाका लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ, स्वीकृति आएसँगै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने म्यादी भर्नाका लागि बाटो खुल्यो,’ गृह मन्त्रालयका प्रवक्ता पोखरेलले भने ।

गृह मन्त्रालयले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी पूरा गरेकालाई आगामी छनोट प्रक्रियामा प्राथमिकतामा राख्नेगरी तयारी गरेको छ । पुरानाबाट अपुग भएको अवस्थामा नयाँलाई भर्ना गर्ने तयारी छ ।

यसरी भर्ना गरिने म्यादी प्रहरीको कार्यकाल पनि स्थानीय तह निर्वाचनमा जस्तै ४० दिनको हुनेछ । स्थानीय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले स्थानीय तह निर्वाचनमा जिम्मेवारी पूरा गरेका म्यादीलाई आगामी भर्ना छनोट प्रक्रियामा पहिलो प्राथमिकतामा राखिने जानकारी दिएको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *