चीनसँगका व्यापारिक नाका तत्काल नखुल्ने, तिब्बत नजान महावाणिज्यदूताबासको नेपालीलाई आग्रह

खुनमिङ (चीन) । नेपाल र चीनबीचका व्यापारिक नाका तत्काल नखुल्ने भएका छन् । चीनको तिब्बतमा कोरोना संक्रमण बढ्दै गएपछि अनिश्चितकालीन लकडाउन घोषणा गरिएसँगै तातोपानी र केरूङ नाका तत्काल नखुल्ने भएका हुन् ।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नेपालतर्फको व्यापारिक मार्गमा पर्ने  केरुङ, सिगात्से, न्यालमलगायतका ठाउँहरूमा संक्रमण बढिरहेको र पूर्णरूपमा लकडाउन गरिएको बताइएकाे छ ।

यसअघि हरेक तीन दिनमा लकडाउन थपिने गरेकोमा अहिले अनिश्चितकालका लागि लकडाउन लगाइएको महावाणिज्य दूत जिमसन रुम्दाली राईले परराष्ट्रलाई लेखेका पत्रमा उल्लेख छ ।

चाडपर्व लक्षित तयारी सामग्री, स्याउ, लसुनलगायत अन्य खाद्यान्न र विद्युतीय गाडीका झण्डै ५५ कन्टेनरहरु तिब्बतमा अड्किएको अनुमान गरिएको छ । त्यसबाहेक नेपाली सीमाक्षेत्र लक्षित कन्टेनरहरू अन्य ठाउँमा पनि अड्किएकाे हुनसक्ने बताइएकाे छ ।

लकडाउनका कारण नाका खुलाउने विषयमा तिब्बतस्थित वाणिज्य विभाग र परराष्ट्रसँग छलफलसमेत गर्न नसकिएको महावाणिज्य दूत राईले उल्लेख गरेका छन् । कोरोना प्रोटोकलका कारण समन्वय गर्न पनि कठिन भएको उनको भनाइ छ ।

बेइजिङस्थित नेपाली राजदूताबासले पनि नेपाललक्षित अत्यावश्यक सामग्री ढुवानी गराउने विषयमा चीन सरकारका सम्बन्धित निकायमा पहल गर्ने बताइएकाे छ ।

तिब्बतमा रहेका केही नेपालीहरूमा पनि संक्रमण देखिएको छ । नियोगका काम फोन र अनलाइनबाट मात्र भएको भन्दै महावाणिज्यदूतावासले तिब्बत आउने खोज्ने नेपालीलाई तत्काल नआउन सुचित गरेकाे छ ।

व्यापारिक प्रयोजनका लागि नेपालतर्फ निर्यात गर्ने गरी एकातर्फीरुपमा खुल्ला गरिएको केरुङ र तातोपानी नाका पछिल्लाे पटक १२ दिनयता ढप्प छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार तिब्बतमा हालसम्म ६ हजार संक्रमित फेला परिसकेका छन् भने ४० हजारलाई केन्द्रिकृत क्वारेन्टिनको निगरानीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *