झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई समाप्त पार्ने नियोजित मनसायले सत्ता गठबन्धन अगाडि बढिरहेको बताएका छन्।
झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालको प्रदेश १ स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकासका लागि भन्दा पनि एमालेलाई धराशायी र कमजोर बनाउने नियतले सत्तारुढ दलहरूले सम्पूर्ण शक्ति खर्चिरहेको बताए ।
देश बनाउने र विकास गर्नेभन्दा पनि गठबन्धनको ध्यान एमालेलाई कसरी कमजोर र धराशायी बनाउन सकिन्छ भन्नेमा केन्द्रित छ,’ अध्यक्ष ओलीले भने, ‘तर, हाम्रो बलियो जनाधार गठबन्धनले भत्काउन चाहँदैमा भत्किने खालको छैन ।’
आम निर्वाचन घोषणापछि एमालेविरुद्धको घेराबन्दी अझै कसिलो बनाउने मनसायले सत्ता गठबन्धन अगाडि बढेको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षा र राजनीतिक स्थायित्वका लागि एमाले एक्लै उभिने बताए। ‘कमजोरहरूलाई चाहिने हो, गठबन्धन,’ अध्यक्ष ओलीले भने, ‘हामी झुसे बारुला निले झै गठबन्धनलाई निल्न काफी छौं ।’
नागरिकता विधेयकको नाम नलिई एमाले अध्यक्ष ओलीले राष्ट्रपतिद्वारा संसद्लाई पठाइएको पत्र चार मसलेहरूले नखोल्नु भनेर आदेश दिएकोसमेत दाबी गरे।

 
				 
										 
										 
										