लोसपाले भन्यो-नागरिकता समस्याको सम्बोधन समयमा नभए मुलुकमा असन्तुष्टि बढ्न सक्छ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयकमा राष्ट्रपतिको कदमबाट मधेसमा चिन्तित र निराशा बढाएको बताएको छ ।

सोमबार पार्टी अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरी नागरिकता समस्याको सम्बोधन समयमा नभए मुलुकमा असन्तुष्टिहरु बढेर जाने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ’मधेसलगायत देशका विभिन्न भागमा रहेका नागरिकहरु यस कदमबाट चिन्तित र निराश छन्। नागरिकता समस्याको सम्बोधन समयमा भएन भने मुलुकमा असन्तुष्टिहरु बढेर जाने र त्यसबाट विभिन्न समस्याहरु उत्पन्न हुने परिस्थितिबाट इन्कार गर्न सकिँदैन। यस नागरिकता विधेयकलाई अविलम्ब पारित गर्न गराउन लोसपा सरकासँग जोडदार माग गर्दछ ।’

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित नभई फिर्ता पठाइएकोमा लोसपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नागरिकताको अभावमा लाखौं नेपाली नागरिक राज्यविहीनताको अवस्थामा रहेको, उच्च शिक्षा हासिल गर्नेदेखि रोजीरोटीको समस्या, नोकर, व्यापार–व्यवसायको समस्या विदेश भ्रमण, वैदेशिक रोजगार, मतदानलगायतको समस्याको दिनानुदिन सामना गर्नुपरिरहेको अवस्थामा विधेयक फिर्ताले झन् जटिल बनाएको पार्टीको बुझाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *