संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै सभामुख असन्तुष्ट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् ।

उनले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अप्ठ्यारो भइरहेको बताए ।

उनले संसदमा विधेयक पास गर्नका लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरु बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्ने बताए ।

उनले भने, ‘कानून शक्तिशाली हुन, न्यायेचित र विवेकशील हुनुपर्छ र मात्र शक्तिशाली हुन्छ । हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन । हामीभन्दा माथि पनि कानून छ । हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ ? कति मिहेनत र परिश्रम गर्यौं, त्यो मूल्यांकनको कुरा छ । हाम्रा सबै कुरा जनताले हेरिरहेका छन् । हामीले कतिपटक घण्टी बजाउनुपरेको छ, विधेयक पास गर्नका लागि, हामीले कतिन्जेल पर्खिनुपरेको छ, मन्त्रीहरु बोलाउनका लागि । हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ ।’

सभामुख सापकोटाले समितिमा दोहोरोपन देखिएको पनि बताए । उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दापनि देशको धरातललाई बुझेर निर्णय भएको हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए । उनले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *