पश्चिम सेती जलविद्युत् निर्माण जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं । सरकारले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको बहुप्रतिष्ठित पश्चिम सेती जलविद्युत् आयोजना तथा सेती नदी–६ जलविद्युत् परियोजना विकास अध्ययनको जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिएको छ ।

जसका लागि छिट्टै भारतीय कम्पनीसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्नेछ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको ५२औं बोर्ड बैठकले यस्तो निणर्य गरेको हो ।

बोर्डले पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् परियोजना विकासका लागि भारतीय विकास कम्पनी एनएचपीसीसँग प्रारम्भिक सम्झौता गर्ने निर्णय गरेको छ । सोही बैठकमा यी परियोजना निर्माणका लागि भारतीय कम्पनीसँग गरिने समझदारीपत्र स्वीकृत गरिएको हो ।

कुल ७ सय ५० मेगावाट विद्युत् उत्पादन क्षमताको पश्चिम सेती र ४ सय ५० मेगावाट विद्युत् उत्पादन क्षमताको सेती नदी–६ परियोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने लगानी बोर्डले जनाएको छ ।

लगानी बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले यस्तो जानकारी गराएका हुन् । उनले सोही बैठकले ३ सय २७ मेगावाट क्षमताको माथिल्लो मस्याङ्दी–२ जलविद्युत् परियोजनाको सम्झौता गरी त्यसको सर्वेक्षणको काम समेत अघि बढाउने निर्णय भएको बताए ।

यसैगरी, लगानी बोर्डको सोही बैठकले ६ सय ७९ मेगावाट विद्युत् उत्पादन क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना निर्माण सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनका बाँकी काम गर्ने निर्णय गरेको उनले जानकारी दिए । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *