एजेन्सी । स्पेनिस फरवार्ड अल्भारो मोराटाको ह्याट्रिक गरेपछि एथ्लेटिको म्याड्रिडले प्रि-सिजनमा शानदार जीत निकालेको हो । आइतबार राति भएको प्रि-सिजनको अन्तिम खेलमा एथ्लेटिकोले इटालियन क्लब युभेन्टसलाई ४-० गोलले पराजित गरेको हो ।
युभेन्टस ट्रेनिङ सेन्टरमा भएको खेलमा एथ्लेटिकोलाई जीत दिलाउन मोराटाले ह्याट्रिक गर्दा म्याथेउस कुन्हाले एक गोल थपे । खेलको दसौं मिनेटमा मोराटाले गोल गर्दै एथ्लेटिकोलाई शुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए ।
यस्तै ६२ औं मिनेटमा मोराटाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा कुन्हाले गोल गर्दै एथ्लेटिकोलाई ४-० गोलको शानदार जीत दिलाए ।
अब एथ्लेटिकोले १५ अगस्टमा गेटाफेसँग खेल्दै सिजनको शुरुवात गर्नेछ भने युभेन्टसले सिजनको पहिलो खेल १५ अगस्टमा ससौलोसँग खेल्नेछ ।