काठमाडौँ । नेपाली कांग्रेसले न्यायपालिकामा विकृतिको चाङ लगाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइएको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रस्ताव पारित गर्नुपर्ने बताएका हुन् ।
उनले महाभियोगलाई लिएर सत्ता र प्रतिपक्षमा उभिन नहुने बताए । संसद्ले न्यायपालिकामा देखिएको विकृति अन्त्य गर्नुपर्छ भनेर न्यायालय र सडकबाट आवाज उठेपछि महाभियोग लगाइएको उनले बताए ।
उनले भने,‘न्यायपालिकामा सर्वोच्च पद प्रधानन्यायाधीशले आफ्नो पदअनुकूल आचरण गर्न नसकेको, कार्य सम्पादन गर्न नसकेको, विवादित फैसलाहरु गरेको, अन्यायपूर्ण फैसलाहरु नगरेको, विचौलियाहरुको प्रयोग गरेर मुद्दाहरुलाई प्रभावित गरेको जस्ता विषयहरु उठाएर संसद्ले भन्दा पनि सडकबाट, अधिवक्ताहरु, कानुनविद्हरु, कानुन व्यवसायीहरु, न्यायापालिकाकै न्यायाधीशहरु, सबै तहका न्यायाधीशहरु, पूर्वप्रधानन्यायाधीशहरु, कानुन व्यवसायीले प्रश्न उठाएको विषय हामीले सम्झनुपर्छ।’
महाभियोगलाई सही ढंगबाट टुंगोमा पुर्याउनुपर्ने सांसद विश्वकर्माको भनाइ थियो । उनले प्रतिपक्षी एमालेका कारण प्रस्ताव छलफलका लागि ल्याउन ढिलाइ भएको बताए । उनले भने, ’यो मुद्दालाई सही ढंगबाट टुंगो लगाउनुपर्छ । विलम्ब भयो भन्ने गुनासो छ, विलम्ब भएको हामीलाई पनि लागेको छ । सबैलाई लागेको छ । विलम्बको कारण के हो ? ९ महिनासम्म संसद् सुचारु गर्न सकेनौं ।’
