काठमाडौंकै उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौं। देशको सङ्घीय राजधानी काठमाडौंभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ। जिल्ला निर्वाचन कार्यालय पनि काठमाडौंको रिङरोडभित्रै छन्। यद्यपि स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा गरेका उम्मेदवारको पहुँच भने निर्वाचन कार्यालयसम्म भएको देखिँदैन।

निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर स्थानीय निर्वाचन–२०७९ मा काठमाडौं जिल्लाबाट कुल तीन हजार ३१० जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये करिब दुई हजार १५० जना पराजित उम्मेदवारले निर्वाचन खर्च अझै पनि बुझाएका छैनन्।

काठमाडौं महानगरपालिकाको निर्वाचनको अन्तिम परिणाम जेठ ११ गते घोषणा भएको थियो। कानुनबमोजिम असार ११ गतेभित्र निर्वाचन खर्च बुझाउनुपर्नेमा उक्त समयभित्र महानगरका १८१ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतले बताए।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले असार १९ गतेसम्म निर्वाचन खर्च बुझाएका उम्मेदवारको सूची निर्वाचन आयोगमा पठाएको जानकारी दिए। काठमाडौं महानगरपालिकामा विभिन्न पदका लागि ८२५ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये १९३ जनाले मात्रै आफ्नो निर्वाचन खर्च बुझाएका छन्। १२ जनाले त कानुनले तय गरेको समयसीमा बाहिर गएर निर्वाचन खर्च बुझाएका छन्। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *