पोखरा । होटल सङ्घ पोखरा नेपालले पर्यटन क्षेत्रसम्बद्ध व्यवसायीलाई एकदिने टूर प्याकेज तालिम प्रदान गरेको छ । पर्यटनमा क्रियाशील तीन दर्जन व्यवसायीको सहभागिता रहेको तालिम आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
सुवेदीले होटल सङ्घले लामो समयदेखि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपालका विभिन्न भागमा कार्यक्रम गरी जाउँ है पोखरा अभियान र भारतमा पनि त्यसैगरी चलिय पोखरा अभियान सञ्चालन गर्दै आइरहेको स्मरण गराउँदै उहाँले चीन र अन्य तेस्रो मुलुकमा समेत नेपाल प्रवद्र्धनका लागि पर्यटन मार्टहरूमा सङ्घ सहभागी हुँदै आएको बताए ।
कोभिड–१९ का कारण दुई वर्ष पोखरासँगै नेपालको पर्यटन ठप्प हुन पुग्दा थुप्रै पर्यटन व्यवसायी र यस क्षेत्रका मजदुर, कामदार र कर्मचारी पलायन हुन पुगेको उनले बताए । पछिल्लो छ महिनायता पर्यटक आगमन राम्रै रहे पनि केही दिनयता भने अफसिजनलगायत कारणले पर्यटन आगमन सन्तोषजनक हुन नसकेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
होटल, ट्राभल, पदयात्रा, साहसिक पर्यटनलगायत विविध क्षेत्रलाई समेटेर अहिलेको अफसिजनमा पर्यटकका लागि विशेष प्याकेज बनाउने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको र आगामी सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक आगमन राम्रो हुने विश्वास लिइएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले तालिमबाट व्यवसायीमा थप ऊर्जा मिलेको बताउँदै व्यवसायलाई परिस्कृत ढङ्गले अगाडि बढाउन यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रमराज गौतम, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख निर्देशक काशीराज भण्डारी र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्राचार्य प्रकाश रेग्मीले पर्यटन प्रवद्र्धन, पर्यटकलाई गरिने व्यवहारलगायतमा आ–आफ्ना प्रस्तुत गरेका थिए ।