काठमाडौं । नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो । दशैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।
साढे २ मिनेटको टिजरमा चलचित्रका मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ । ‘परदेशी–२’ लोकप्रिय गायक प्रकाशको डेब्यू चलचित्र हो । यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाईएको टिजरबाट आँकलन गर्न सकिन्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरुको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको कुरा पनि टिजरबाट बुझ्न सकिन्छ । प्रेम, वियोग, संवेदना, द्धन्द्ध, गीत सबैको अंश टिजरमा मिश्रित छ ।
नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन् । चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको समेत अभिनय छ । बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी रहेको छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ्ग, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ ।
सुदीप कुँवरको सह–निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् भने यसमा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह–सम्पादन छ ।