सत्ता स्वार्थका लागि कांग्रेस निरीह बन्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेपाली कांग्रेस निरीह बनेको बताएका छन् । शुक्रबार छविलाल कार्की स्मृति तथा रक्तदान कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेससँग विचार नै नभएको बताएका हुन् ।

उनले मन्त्रीलाई कारबाही गर्न नसक्ने प्रधानमन्त्री निरीह भएको बताए उनले भने, ‘प्रधानमन्त्रीसँग मन्त्रीलाई कारबाही गर्ने निकाल्ने कुनै हुती छैन । सत्ता स्वार्थ भनेको त्यस्तो हुँदो रहेछ । मन्त्रीले जे गरेपनि कांग्रेस त हेरेको हेर्यै।’

उनले राजतन्त्रसँग माओवादी केन्द्रको कार्यगत एकता रहेको दाबी गरे । उनले भने,‘प्रचण्डपथ भनेको देशलाई भड्कालोमा लैजाने पथ हो । देशलाई अन्धकारमा लैजाने पथ हो ।’

उनले गठबन्धनको उद्देश्य लोकतान्त्रिक संस्था कमजोर पार्ने रहेको बताए । उनले  वर्तमान सरकार स्वीकार्य नभएको भन्दै यदि यो नहटे जनताले टिपेर मिल्काउनुपर्ने अवस्था आउनसक्ने बताए । उनले भने,‘यो सरकार अविलम्ब हट्नुपर्छ । यिनीहरुको ठाउँमा सद्धे मान्छे कोही हुन्थे भने पग्लेर हिँड्नुपथ्र्यो । अझै भाषण गरिरहेका छन् अन्ठसण्ठ । अब अति भयो ।’

अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्मा ढुकुटीभित्र पसेर साँचो लिएर लुटेको आरोप लगाए । उनले भने,‘व्यापारीको प्रतिनिधि बसेर करका दर तय हुन्छ । विभिन्न छुटहरु तय हुन्छ । योभन्दा लज्जास्पद काम के हुन्छ ?’

उनले माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध र त्यसपछि मारिएको व्यक्तिहरुप्रति माफी माग्नुपर्ने बताए । उनले भने, ‘स्वीकारोक्ति छैन । अहंकार छ । दम्भ छ । मान्छे मारेको छ । लज्जाबोध छैन । अफठ्यारो केही लाग्दैन ।’

ओलीले माओवादीकै कारण युवा जनशक्ति खाडीतिर जाने अवस्था प्रारम्भ भएको दाबी गरे । उनले भने,‘देशमा बस्नेलाई धम्क्याउन थालेपछि गाउँमा बस्न नसकेर युवा खाडीतिर जान थाले । माओवादीले कुनै उद्यम रोजगारी सिर्जना गर्नेतिर कदम चाल्नै दिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *