पदाधिकारी छान्न दाहाल असफल

काठमाडौं। चर्को विवादका कारण नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले बिहीबार पदाधिकारीको टुंगो लगाउन सकेन । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने अख्तियारी पाएका अध्यक्ष पुष्पकमल दाहालले बिहीबारको बैठकमा पोलिटब्युरो र स्थायी समितिमा रहने केहीको नाम प्रस्ताव गरे । तर, पदाधिकारीका लागि भने उनले केही दिनको समय माग गरे ।

आइतबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समितिको टुंगो लगाएको हो । यसअघि रहेका १५ जना पूर्वस्थायी समितिका सदस्य स्वतः परेका छन् भने बाँकीको नामसमेत पछि टुंगो लाग्नेछ ।

बैठकले १ सय ५६ जना पोलिटब्युरो सदस्यको नामावली टुंगो लगाएको छ । बैठकमा अध्यक्ष दाहालले सुरुमा १ सय २५ जना पोलिटब्युरो सदस्यको नामावली घोषणा गरेका थिए । तर, केही असन्तुष्ट नेताले हुटिङ गरेपछि उनले थप ३१ जनाको नाम समावेश गरी पोलिटब्युरो सदस्यको संख्या १ सय ५६ जना बनाएका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पदाधिकारी चयन गर्न गृहकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यसँग समय मागेका थिए । ‘अलिकति गृहकार्य पुगेको छैन । सबैको अनुहार उज्यालो बनाउन दुई÷चार दिन दिनुस् । केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समिति टुंगो लागेकाले पदाधिकारी टुंगो लगाउन पनि ठूलो समस्या छैन,’ बैठकमा सहभागी एक सदस्यले दाहालको भनाइ उद्धृत गर्दै भने ।

उनले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको पनि बताए । ‘महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु । म पढ्न सक्छु, प्लिज पढ्न नलगाउनुस् । दुई÷चार दिन दिनुस्, सबैलाई खुसी बनाउनेगरी टुंगो लगाउँछु,’ बैठकमा उनले भने ।

११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको थियो । पार्टीको महाधिवेशन भएको ६ महिना बित्दासमेत सांगठनिक कार्य पूरा नगरिएको भन्दै अध्यक्ष दाहालकोको आलोचना हुँदै आएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *