संघीय निजामती ऐनमा अझै झेल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा संघीय निजामती सेवा विधेयकको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

यसअघि संसद्मा दर्ता भइसकेको सो विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको थियो । त्यसरी फिर्ता गरिएको विधेयकको मस्यौदा पुनः पुरानै प्रावधान समेटेर अर्थ मन्त्रालयमा पठाइएपछि विधेयक फेरि विवादमा परेको छ ।

पुरानै प्रावधानलाई यथावत् राखेर संघीय मामिला मन्त्रालयले सो विधेयकको मस्यौदा अर्थ मन्त्रालयमा पठाएपछि मन्त्रालयकै अधिकारीसमेत मन्त्रीसँग असन्तुष्ट बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामती सेवा ऐनमा गर्नुपर्ने नयाँ व्यवस्था’दयगत मन्त्रालयस्तरमा कुनै छलफल नगरेको मन्त्रालयका सहसचिवको गुनासो छ ।

‘मन्त्रीज्यूले बाहिरबाहिरै विधेयकको मस्यौदा तयार पारेर पठाउनुभयो, हामीलाई खासै कुनै जानकारी नै भएन्,’ मन्त्रालयका एक सहसचिवले राजधानीसँग भने । मन्त्री श्रेष्ठले विधेयकको मस्यौदा बनाउँदा अन्य केही मन्त्रीसँग मात्रै गोप्य साँठगाँठ गरेको र स्वतन्त्र विज्ञ तथा प्रशासनविद्सँग छलफल नगरेको भन्दै मन्त्री श्रेष्ठको मन्त्रालयभित्रै आलोचना भएको छ ।

मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले लामो समयदेखि चरम बेवास्ता गर्दै आइरहेको थियो । अहिले मन्त्रालयले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाए पनि सो विधेयकले अन्तिम रूप पाउन भने केही हप्ता लाग्ने बताइएको छ ।

अर्थ मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री शेरबहादुर देउवा आफंैले लिएपछि पुरानै प्रावधान समेटिएको विधेयक अर्थ मन्त्रालयबाट स्वीकृत नहुने स्रोतको दाबी छ । त्यसैले अर्थ मन्त्रालयमा सो विधेयक रोकिने बताइएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *