गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु

पोखरा । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि पोखरा रङ्गशालामा सुरु भएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा यही असार २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक १० जिल्लाका ५७४ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उशु खेलमा खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो दिनको खेलमा स्याङ्जाका जानकी खरालले दुई स्वर्ण पदक जित्न सफल भए । छात्रातर्फ ८०० मिटर र एक हजार ५०० मिटर दौडमा जानकीले दुई पदक जित्न सफल भइन् ।

छात्र ८०० मिटर दौडमा बादल कार्कीले स्वर्ण जित्दा प्रवेश आचार्यले रजत र विकास पोखरेलले कास्यपदक हात परे । छात्रतर्फको एक हजार ५०० मिटर दौडमा पर्वतका कृष्ण परियारले स्वर्ण, लमजुङका विकास पोखरेलले रजत र कास्कीका विवेक परियारले कास्यपदक पाए  ।

छात्र १०० मिटर दौडतर्फ नवलपुरका ताराप्रसाद थनेतले स्वर्ण, तनहुँका प्रेमबहादुर थापाले रजत र म्याग्दीका आशिष केसीले कास्य पदक पाए । छात्रा १०० मिटर दौडमा स्याङ्जाका समीक्षा गैरेले स्वर्ण, नवलपुरकी प्रतिक्षा वाग्लेले रजत र लमजुङकी लक्ष्मी परियारले कास्य जिते ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकुद विकासका लागि लगानी बढाउनुपर्ने बताए । पोखरा पर्यटकीय सहर मात्र नभई खेलकुदकोसमेत अपार सम्भावना भएको ठाउँ हुनाले यहाँका खेल मैदानसँगै रङ्गशालाको संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने जोडे  ।

उनले भने, “राष्ट्रियताको जर्गेना गर्ने विषय भन्नु नै खेलकुद हो, त्यसैले खेलकुद विकाससँगै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेतर्फ सबैको ध्यान जान आवश्यक छ, खेल पूर्वाधारका लागि सरकारले लगानी बढाउनु आवश्यक छ ।”

कार्यक्रममा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, गण्डकी प्रदेश शिक्षा विकास निर्देशक अम्बिकाप्रसाद आचार्य, युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेललगायतले विद्यालय लक्षित खेलकुद कार्यक्रम सञ्चालनका लागि राज्यले योजना बनाउनुपर्ने बताए ।

प्रतियोगिता सुरु हुनुअघि भएको मार्चपासमा कास्की जिल्ला प्रथम भएको छ भने गोरखा द्वितीय र नवलपुरले तृतीय स्थान हासिल गर्न सफल भए । विजेता खेलाडीलाई प्रदेशसभाका सभामुख अधिकारी, गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मी, नेपाली सेना मध्य कमाण्डपति बाबुराम श्रेष्ठ, राखेपका सदस्य राजेशकुमार गुरुङ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *