साझा यातायातद्वारा काठमाडौंमा विद्युतीय बस संचालन

काठमाडौँ । साझा यातायातले तीनवटा विद्युतीय बसमार्फत सेवा सुरु गरेको छ। बिहीबार पुल्चोकस्थित साझा यातायात परिसरमा संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बस सेवाको सुरुवात गरेका हुन् ।

तीनमध्ये दुई बस नयाँ बसपार्क–बालाजु–रत्नपार्क–बानेश्वर हुँदै एयरपोर्ट रुटमा चल्नेछन्। एउटा बस लगनखेल–लैनचोर–बाँसबारी हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाले जनाएको छ। तीनवटै बसमा चालक र सहचालक महिला छन् ।

परीक्षणका रूपमा अहिले तीनवटा गाडी मात्रै सञ्चालन गरेको साझाले जनाएको छ। सरकारले विद्युतीय बस किन्नका लागि साझा यातायातमा २०७६ असारमा तीन अर्ब रुपैयाँ लगानी गरेको थियो ।

साझाले बिजुलीबाट चल्ने बस तीन चरणमा भित्राउने योजना बनाएको छ। पहिलो चरणमा साझाले चीनको सीएचटीसीओ कम्पनीले बनाएको ४० वटा बिजुली बस किनेको छ । थप ३७ थान बस साउन मसान्तसम्म ल्याउने साझाले जनाएको छ । दोस्रो चरणमा लामो दूरीका बिजुली बस ल्याउने साझाको योजना छ ।

चीनको नानचिङस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा यी बस तयार भएका हुन् । चीन मै ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि नेपालमा ल्याइएको थियो । सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएकाले यी बसले काठमाडौंमा भरपर्दो सेवा दिने विश्वास साझाकाे छ । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो ।

साझाले यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने योजना बनाएकाे छ । अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आएका छन् । यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरालगायतका सुविधा जाडिएका छन् । अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *