जनार्दन शर्मालाई महासचिवको दाबीमा धक्का

काठमाडौ । नेकपा (माओवादी केन्द्र)मा पदाधिकारी चयन प्रक्रिया अघि बढिरहेका बेला पार्टीको महत्वपूर्ण जिम्मेवारी मानिने महासचिव पदका एक मुख्य दाबेदार जनार्दन शर्मा विवादमा तानिएका छन्।

पार्टीभित्र महासचिव पदमा शर्मा र वर्षमान पुनः मुख्य दाबेदार भए पनि बजेट निर्माण प्रक्रियामा त्रुटि गरेको भन्दै शर्मामाथि संसदीय छानबिन सुरु भएपछि उनको दाबी कमजोर भएको हो। पार्टीको भावी नेतृत्वका रूपमा हेरिएको र कार्यकारी पदसमेत रहेको महासचिवमा दाबी गरिरहेका शर्मा विवादमा तानिएपछि उक्त पदमा पुनको सम्भावना बलियो बनेको माओवादी नेताहरूले बताउने गरेका छन्।

शर्मा यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट हटाएको विषयमा पनि विवादमा तानिएका थिए। तर सर्वोच्च अदालतले सरकारको कारबाही उल्टाइदिएपछि शर्मामाथि पदमा बस्न नैतिक प्रश्न उठेको थियो। तर नैतिकताको विषयलाई बेवास्ता गर्दै उनी पदमा बसिरहेका थिए।

सरकारमा हुँदा एकपछि अर्को विवादमा तानिएका शर्मालाई तत्काल पार्टीको महत्वपूर्ण जिम्मेवारी दिँदा पार्टीमाथि पनि नैतिक प्रश्न उठ्ने भएकाले तत्काललाई उनको महासचिव बन्ने सम्भावना कम भएको नेताहरूले बताउने गरेका छन्। माओवादी केन्द्रभित्र शर्मा र पुनबाहेक पम्फा भुसाल, गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल र शक्ति बस्नेतले पनि महासचिव पदमा दाबी गरिरहेका छन्। अन्यको तुलनामा शर्मा र पुन बलिया दाबेदार मानिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *