गठबन्धनका गतिविधिले अहिलेको सरकार देशको हितमा छैन भन्ने प्रष्ट भयोः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले गरेको ज्यादतीका कारण जनताले एमाले नेतृत्वको सरकार सम्झन थालेको बताएका छन् । जनसंगठन समन्वय संयन्त्रको आयोजनामा मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासनलमा जनसंगठनका अध्यक्षहरूसँगको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘गठबन्धनका नाममा मुलुकमा जे–जस्ता ज्यादती भैरहेका छन् त्यसबाट दिक्क भएर जनताले एमाले नेतृत्वको सरकार सम्झिन थालेका छन् । गठबन्धनका गतिविधिले अहिलेको सरकार जनता र देशको हितमा छैन भन्ने प्रष्ट भएको छ,’ अध्यक्ष ओलीले भने, ‘हाम्रा निम्ति यो परीक्षा जस्तो पनि भएको छ । जनताले एमाले नेतृत्वको सरकार जनहितमा थियो भन्ने थप थाहा पाएका छन् ।’

अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै जित्ने गरी तयारी तीब्र पार्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

‘चुनावको परिणाम हेर्दा एमाले हार्यो भन्दै विरोधीहरू प्रचार गरिरहेका छन् तर हामीले चुनाव हारेका होइनौं, जितेका छौं, हामीसँग एक्लै लड्न सक्ने ताकत कसैसँग छैन भन्ने सन्देश निर्वाचनले दिएको छ,’ उनले भने, ‘अब पनि एक्लै लड्ने आँट कसैले गर्दैन । कसैले पनि एमालेसँग एक्लै भिड्ने आँट गर्दैन ।’

देशभित्र र बाहिरका सबै शक्ति लगाउँदा पनि एमाले हराउन नसकेको स्मरण गराउँदै अध्यक्ष ओलीले भने,’ ‘यत्रो घेराबन्दी हुँदा पनि हामी एक्लै लडेर जीत हासिल गरेका छौं । हामी कमजोर होइनौँ । त्यसैले विजयी मानसिकताका साथ अगाडि बढ्नोस् ।’

अध्यक्ष ओलीले अहिलेको गठबन्धनले देशलाई बर्वाद बनाउने बाटोमा लागेको र मुलुकप्रति ध्यान नै दिन छाडेको बताए । उनले बजेट बनाउँदा सेटिङ गरेर अन्तर्राष्ट्रिय रूपमा कतै नभएको बेइमानी गर्दै राष्ट्रिय ढुकुटीमाथिको डकैती गरेको बताए । ‘व्यापारिक घरानाका प्रतिनिधि राखेर, बिचौलियाका एजेन्ट राखेर मोलमोलाइ गरेर करका दरहरू परिवर्तन गरियो,’ उनले भने, ‘एमाले नेतृत्वको सरकारले कोभिडको त्यस्तो महामारीमा पनि सबै सूचकहरू तल जान नदिएर काम गरेको थियो ।’

अध्यक्ष ओलीले एमालेको विचार, उद्देश्य र गन्तव्य सही छ भन्दै यस अभियानमा सम्पूर्ण जनतालाई गोलबन्द गर्दै अहिलेको गठबन्धनलाई पराजित गर्नुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *