फेरिन्छन् हाकिम, हट्दैन समस्या

काठमाडौं । सरकारले यातायात व्यवस्था विभागको महानिर्देशकको हेरफेर गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट विभागको नयाँ महानिर्देशकमा सुरेश राउतलाई ल्याउने निर्णय भएको छ ।

शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा राउतलाई ल्याउने निर्णय भएको हो । प्रदेश १ मा कार्यरत राउतले आज (सोमबार)बाट पदीय जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।

हाल विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका नमराज घिमिरेलाई वन तथा वातावरण मन्त्रालय सरुवा गरिएको छ । उनी २ चैत २०७७ मा महानिर्देशकको जिम्मेवारीमा यातायात व्यवस्था विभागमा सरुवा भएका थिए ।

उनले महानिर्देशकको जिम्मेवारी सम्हालेपछि परीक्षणकालीन लाइसेन्स वितरण थालिएको थियो । जसका कारण समयमा नै सेवाग्राहीले लाइसेन्स नपाए पनि रसिदको भरमा हिँड्नुपर्ने समस्या हटेको थियो । बाग्मती प्रदेशअन्तर्गतका कार्यालयबाट एक वर्षको परीक्षणकालीन लाइसेन्स दिने गरेको थियो ।

पछिल्लोपटक प्रदेश मातहतका कार्यालयमध्ये हेटौडा कार्यालयबाहेक अन्य कार्यालयले बजेटको अभाव देखाउँदै परीक्षणकालीन लाइसेन्स सेवा बन्द गरेका थिए ।

घिमिरेले आफूले जिम्मेवारी सम्हालेपछि ६ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेर वितरण गरेको, नयाँ अनलाइन प्रणाली लागू गरेको बताएका छन् । उनले नयाँ प्रणालीमा १५ दिनभित्र सेवाग्राहीले भिजिट डेट पाउनेगरी सेवामा सुधार गरेको दाबीसमेत गरेका छन् । विभागमा महानिर्देशक हेरफेर हुने गरे पनि त्यहाँको समस्या भने समाधान हुने गरेको छैन ।

सेवाग्राहीले लाइसेन्स परिक्षा पास गरेको दुई वर्षसम्म लाइसेन्स पाउन सकेका छैनन् । यातायात कार्यालयमा सानो कामका लागि पनि सेवाग्राहीले घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *