तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

काठमाडौं। भारी वर्षासँगै हुन सक्ने सम्भावित विपद्को घटना न्यूनीकरणसँगै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

तराई–मधेसमा डुबान र पहाडी क्षेत्रमा बाढीपहिरो जाने क्रम शुरू भएसँगै सम्भावित विपद्को पूर्वअनुमानअनुसार ती क्षेत्रका नागरिकको सुरक्षाका लागि गृह मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपद् कार्ययोजना बनाएर देशभर नै आफू मातहतका निकायलाई परिचालन गरेको छ ।

विपद् हुनसक्ने सम्भावित बस्तीको पहिचान गरी त्यस क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काममा तीनवटै सुरक्षा निकायले समन्वय गरेर काम शुरू गरेका छन् । असार १ देखि १५ गतेसम्म बाढी पहिरोबाट १४ जनाले ज्यान गुमाइसकेका छन् भने १ सय २० परिवार प्रभावित बन्न पुगेका छन् । यो क्रम बढ्दो छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले मनसुन शुरू भएको अवस्थामा देशभर रहेका सैनिक युनिटलाई तयारी अवस्थामा राखिएको बताए । उनले देशको चारवटै कमान्ड र ७७ जिल्लामा सूचना संकलनलाई व्यवस्थित बनाइएको जानकारी दिँदै सोहीअनुरूप नेपाली सेना परिचालन हुने बताए ।

प्रवक्ता सिलवालले उद्धार कार्यका लागि आवश्यक जनशक्ति र हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी पनि दिए । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सम्भावित विपद्को खोज तथा उद्धारका लागि देशभरका प्रहरीलाई तयारी अवस्थामा राखिएको बताए ।

उनले केन्द्रीय विपद् महाशाखामा प्रहरी तयारी अवस्थामा राखेको बताउँदै सातवटै प्रदेश र ७७ जिल्लाका सबै युनिट तयारी अवस्थामा रहेको जानकारी दिए । उनले आपत्कालीन अवस्थामा भएको जनशक्तिलाई अधिकतम परिचालन गरिने र सकेसम्म सम्भावित जोखिमको बस्ती पहिचान गरेर त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम पनि शुरू भएको बताए ।त्यसै गरी सशस्त्र प्रहरी बलले पनि बाढी पहिरो जान सक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी उक्त क्षेत्रको आसपासमा रहेका युनिटहरूलाई २४ सै घण्टा परिचालन गर्ने निर्णय गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *