काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका रैथाने धानका जातको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरेर मुलुकलाई धान, चामलमा आत्मनिर्भर बनाउनुपर्ने बताएका छन्।
उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश हुँदै उनले नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्वसँग धान खेतीको सम्बन्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपालीको आधारभूत खाद्यवस्तुको स्रोतका रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि स्थान ओगटेको जारी संदेशमा उल्लेख गरेका छन् ।
नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सो हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ कार्यान्वयन भइरहेको उल्लेख गरेका छन् । उनले भोकमरी अन्त्य गर्नेलगायतका दिगो विकासका लक्ष्यहरू प्राप्ति गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवद्र्धनलगायतका विषयमा सरकारले काम गर्दै आएको सन्देशमा उल्लेख गरेका छन् ।