म्याराडोनाको उपचारमा लापरबाही गरेको भन्दै स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीले मुद्दाको सामना गर्नुपर्ने भएको छ । एउटा छानबिन समितिले उनको उपचारमा व्यापक कमजोरी र अनियमितता देखिएको पाएपछि एक न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएका हुन् ।

आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजमा सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयाघातका कारण म्याराडोनाको निधन भएको थियो । सोही महिनाको सुरुतिर मस्तिष्कको शल्यक्रिया गराएका उनलाई सुधार भइरहेको थियो । उनको निधन भएको केही दिनपछि आर्जेन्टीनी अभियोजनकर्ताहरूले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए ।

गत वर्ष २० जना विज्ञ सम्मिलित एउटा प्यानलले म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले अनुपयुक्त, अपर्याप्त र गैरजिम्मेवार ढङ्गले काम गरेको पाएको थियो । मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुईजना नर्स र उनीहरूका हाकिमसहित छन् । आरोपित सबैले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *