खै त विद्यार्थीका हातमा पुस्तक?

काठमाडौं। अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ ।

प्रत्येक वर्ष यही समस्या– पाठ्यपुस्तक अभाव । सरकारी ढिलासुस्ती यतिसम्म बढेको छ कि नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दासमेत विद्यार्थीका हातमा पाठ्यपुस्तक हुन्न ।

अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबिनै अध्ययन गरिरहेका छन् । पुस्तक नहुँदा उनीहरूका पठनपाठन प्रभावित बनेको छ । शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगिसक्नुपर्ने हो । तर, महिना बित्दासमेत उनीहरू अभाव झेल्न बाध्य छन् ।

छपाइ जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत पाठ्यपुस्तक वितरण गरिसकेको दाबी गरेको छ । १५ असारसम्म त सबै ठाउँ पुस्तक पुगिसक्ने जनाउने केन्द्र दैनिक एक लाख छपाइ भइरहेको दाबी गर्छ ।

कतै पूरै कक्षाका पुस्तक पुगेका छैनन् भने केही कक्षामा पुगेका पुस्तक पनि ‘पूरा’ छैन । कर्णाली तथा यातायात विकट मानिएका पहाडीमात्र नभएर काठमाडौं उपत्यकासँग जोडिएका जिल्लामा समेत पाठ्यपुस्तक पुग्न सकेको छैन ।

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्य ‘रुस–युक्रेन युद्धका कारण कागज समयमै आउन नसकेको’ औंल्याउँदै ‘स्थानीय तह निर्वाचनको मतपत्र छपाईका कारण पाठ्यपुस्तक ढिलाई भएको’ प्रस्टोक्ति दिन्छन् ।

केन्द्रका अनुसार रुस–युक्रेन युद्धका कारण ‘सप्लायर्सले समयमै कागज ल्याउन नसकेको र मतपत्र छपाईलाई प्राथमिकता दिनुपर्दा पाठ्यपुस्तकको काम नसकिएको’ हो ।

हुन त, विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने समस्या चालू आर्थिक वर्षमात्र हैन, विगतबाटै यस्ता समस्या दोहोरिरहेका छन् । सरकारले भने विभिन्न बहानामा पन्छिने गरेको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *