आज ११ बजेपछि मात्रै आन्तरिकतर्फका उडान हुने

काठमाडौं। काठमाडौँ, असार ८ गते । वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय, गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन् ।

राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो । यात्रुप्रति जवाफदेही र जिम्मेवार हुनुपर्ने वायुसेवा कम्पनीले पूर्वसूचनासमेत नदिई हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुमा अन्योल थपिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले आवश्यक पूर्वतयारीबिनै एकतर्फी रूपमा काठमाडौँमा बास बसेका जहाज तथा हेलिकप्टरलाई उडान अनुमति नदिएपछि मङ्गलबार अन्य उद्धार तथा आपत्कालीन उडान ठप्प रहेका थिए ।

काठमाडौँ बाहिर बेस तोकिएका हेलिकप्टरले काठमाडौँबाट उडान अनुमति नपाएपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिकतर्फको हवाई उडान ठप्प गर्ने घोषणा गरेका थिए ।

हवाई सेवा सञ्चालक सङ्घले बुधबारदेखि उडान बन्द हुने सूचना जारी गरेलगत्तै वार्ता तथा छलफलका माध्यमबाट समस्या समाधान गर्न सकिने समय हुँदाहुँदै पर्यटन मन्त्रालय र नियामक निकाय गैरजिम्मेवार बनेर बस्दा हजारौँ हवाई यात्रुले सास्ती भोग्न सुरु भएको थियो ।

हवाईमार्गबाट मालसामान ओसारपसार गर्ने यातायात सेवा र हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने निर्णयको आडमा प्राधिकरण वार्ता तथा छलफलका माध्ययमबाट समस्या समाधान गर्नुभन्दा हवाई सेवा बन्द गराउने घोषणा गरेको सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई पक्राउ पुर्जी जारी गर्न निवेदन लिएर गृह मन्त्रालय पुगेको थियो ।

वायुसेवा सञ्चालक सङ्घले प्राधिकरणले लागू गरेको नयाँ व्यवस्थामा असन्तुष्टि जनाएको छ । सङ्घले यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतको शुल्क वृद्धि गरेको भन्दै पाँचबुँदे मागसहित बुधबारदेखि आपत्कालीन उद्धारलगायत नियमित उडान ठप्प पार्ने पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो ।

मङ्गलबार नागरिक उड्डयन प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एउटै ठाउँमा उडान, पार्किङका कारण असहजता बढेकाले त्यसको नियन्त्रणका लागि कुल जहाजको ६७ प्रतिशत काठमाडौँ बाहिर राख्न दिएको निर्देशनबाट प्राधिकरण पछि नहट्ने अडान राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *