पेट्रोल हाल्न सकिएन, बाइक बिक्रीमा!

काठमाडौं । ‘बाइक बिक्रीमा छ है ’ यो कुनै रिकन्डिसन हाउसको सूचना होइन। न त यो कुनै मोटरसाइकल कम्पनीको अफर नै हो। पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिलगत्तै सामाखुसीका कमल खड्काले सामाजिक सञ्जालमा पोखेको दिक्दारी हो यो।

१५० सिसीको पल्सर बाइक चढ्दै आएका खड्काले अब पेट्रोल किन्न नसकिने अवस्थामा पुगेको बताए। त्यसकारण मोबाइल नम्बरसहित ‘बाइक बिक्रीमा छ है !’ भन्दै उनले सामाजिक सञ्जालमा दिक्दारी व्यक्त गरेका हुन्। ‘मोबाइल नम्बरसहित आफ्नो सूचना सामाजिक सञ्जालमा राखें,’ उनले भने, ‘तर समाचारका लागि आएको यो कलबाहेक कसैले फोन गरेका छैनन्।’ नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा २१ रूपैयाँ बढाएसँगै प्रतिलिटर १९९ रुपैयाँ तिर्नुपर्ने भएपछि उनी निरास छन्।

धनगढीबाट राजधानी आएका खड्काले लिटरको १ सय ८ रुपैयाँ हुँदादेखि पेट्रोल किन्न थालेको सुनाए। तर छोटो समयमै यसको मूल्य बढेर झन्डै दोब्बरमा पुगेको उनले बताए। ‘अवस्था सबै उस्तै छ तर मूल्य झन्डै दोब्बर भयो,’ उनले भने, ‘हेर्दाहेर्दै छोइनसक्नु भयो।’ सामाजिक सञ्जालमार्फत उनले जस्तै प्रतिक्रिया पोख्ने अरू थुप्रै छन्।

कैयौंले बाइक बेचेर साइकल किन्ने बताएका छन्। केहीले त पैदल हिँड्न थाल्ने घोषणासमेत गरेका छन्। कतिपयले भने सरकारले विद्युतीय सवारीसाधनको आयातमा बढ्ता जोड दिनुपर्ने सुझाव दिएका छन्। ‘मलाई लाग्छ अब विद्युतीय सवारीसाधन नै उत्तम विकल्प हो,’ अनिशा बराल लेख्छिन्, ‘यसका लागि सरकारले राम्रो व्यवस्था मिलाउनुपर्‍यो।’

विगतमा १ रुपैयाँ, ५ रुपैयाँ, १० रुपैयाँ गरेर पेट्रोलको मूल्य बढ्दै आएकोमा आइतबार राति एकैपटक २१ रुपैयाँ बढेपछि यसले धेरैलाई एकैपटक धक्का दियो। ‘मध्यरातमा निगमले २१ रेक्टरको भूकम्प ल्याएछ,’ मदन अर्याल सामाजिक सञ्जालमा लेख्छन्, ‘भूकम्पप्रतिरोधी साधनको प्रयोग गरौं।’

ठुलो मात्रामा मूल्य बढेपछि निरास हुनेहरू धेरै भेटिए। ‘अब त उति नै दुरीमा पुग्दा तेल पनि बढी खर्च भएजस्तो भान हुन थाल्यो,’ काँडाघारीका रोशन थापाले भने, ‘बाइक थन्क्याएर बसको यात्रा गर्नुको विकल्प रहेन।’ लगातार मूल्य बढ्दा पनि सर्वसाधरणको पक्षबाट बोल्ने कोही नभएको उनले सुनाए। विगतमा थोरै मात्र मूल्य बढ्दा पनि विद्यार्थी संघसंगठनले आन्दोलन गर्ने गरेको तर पछिल्लो समय जनसरोकारको विषयमा उनीहरू पनि मौन रहने गरेको उनको बुझाइ छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *