‘सिंहदरबार भ्रष्टाचारको अखडा बन्यो, राजीनामा दिएर हिँडौं जस्तो लाग्न थाल्यो’

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भ्रष्टाचारको अखडा बनेको’ एक बहालवाला सचिवले नै खुलासा गरेका छन् ।

सरकारकै वरिष्ठ सचिवले ‘सिंहदरबारका अधिकांश मन्त्रालय भ्रष्टाचारको अखडा बन्दासमेत रोक्न कसैले पहल नगरेकाले राजीनामा दिएर निजामती सेवाबाटै बाहिरिउँजस्तो लाग्न थालेको’ बताउँदै यस्तो खुलासा गरेका हुन् ।

अस्ति बिहीबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा राजधानी दैनिकसँग ती सचिवले भने, ‘बिनापैसा कुनै पनि फाइल अघि नबढ्ने अवस्था छ, आफ्नै आँखाले त्यस्तो दृश्य देख्नुपर्दा चिन्ता लाग्छ ।’ बहालवाला सचिवमध्ये तुलानात्मक रूपमा ‘इमानदार’ मानिने ती कर्मचारीमा नैराश्यता छाएकोसमेत देखियो ।

कुराकानीका क्रममा उनले निधार खुम्च्याउँदै ‘अधिकांश मन्त्री, सचिव तथा उच्चपदस्थ मुलुक सुधारका लागि भन्दा आफ्नै स्वार्थ सेक्ने काममा लागेका र देश अझै बर्बादीतर्फ जान सक्ने’ भन्दै चिन्ता व्यक्त गरे । ‘अहिले कसैलाई कसैको डर छैन, न प्रधानमन्त्रीसँग मन्त्री डराउँछन, न त मन्त्रीसँग सचिव नै डराउँछन्,’ उनले थपे, ‘जसरी हुन्छ, पैसा कमाउने विषयमा सबैको मिलिमतो र नेक्सस छ ।’

ती सचिवका अनुसार यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ओम्नी, यतिजस्ता काण्डमा फसे पनि सिंहदरबारभित्र ‘यति धेरै भ्रष्टाचार मौलाएको’ थिएन् । ‘त्यतिखेर एक किसिमको कमान्ड थियो, कर्मचारी तथा प्रहरी सरुवाबढुवामा कुनै किसिमको लेनदेन हुँदैनथ्यो,’ उनले भने, ‘अहिले त कर्मचारी–प्रहरी सरुवाबढुवामा ब्रिफकेस नै चल्ने गरेको छ ।’

सरुवाबढुवामा ‘पैसाको चलखेल अधिक बढेकाले प्रशासन तथा प्रहरी संयन्त्र अत्यधिक कमजोर बनेको’ ती सचिवको विश्लेषण छ ।
यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय र मन्त्रीले गरेका काम अनुगमन गरी मन्त्रीका ‘रिपोर्टकार्ड’समेत बनाउने गरेको थियो । अहिले ती सबै काम रोकिएका छन् । मुख्यसचिवले प्रत्येक महिना राख्ने सचिव बैठकसमेत लामो समयदेखि बस्न सकेको छैन । प्रधानमन्त्री कार्यालयले अन्य मन्त्रालय अनुगमन कामलाई समेत निरन्तरता दिन सकेको छैन । राजाधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *