सिट र मत दुवैमा कांग्रेस पहिलो

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामअनुसार जितेको सिट सङ्ख्या र प्राप्त मत दुवैका आधारमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको दाबी गरिएको छ ।

स्थानीय तह निर्वाचन–२०७९, स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कांग्रेसले वडाध्यक्षलाई प्राप्त मतका आधारमा दोस्रो दल नेकपा (एमाले) भन्दा एक लाख ७५ हजार ७६ मतको अग्रताले सबैभन्दा ठूलो दल बनेको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई बुझाइएको उपसमितिको प्रतिवेदनमा स्थानीय तह निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आएको र पहिलो दल बनेको उल्लेख छ । उपसमिति संयोजक पौडेलले वडाध्यक्षमा प्राप्त गरेको मतका आधारमा कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा स्थापित भएको बताए ।

उनका अनुसार निर्वाचनको परिणाम आएका ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा कांग्रेस विजयी भएको छ । जसमा १८८ अध्यक्ष र १४१ प्रमुख सम्मिलित रहँदा ४४ प्रतिशत हुनआउँछ । ७५२ स्थानमध्ये उपप्रमुख पदमा ३०० स्थानमा विजय भएको उनले उल्लेख गरे । जसमा १९० उपाध्यक्ष र ११० उपप्रमुख रहेको र उक्त तथ्याङ्क ४० प्रतिशत हुने उनको भनाई छ ।

कार्यकारी पदमा एक हजार ५०४ मध्ये ६२९ स्थानमा कांग्रेसको उपस्थिति रहेको बताउँदै पौडेलले निर्वाचन सम्पन्न भएको सात हजार ६३३ वडामध्ये दुई हजार ६६५ वडाध्यक्ष, दुई हजार ६०६ महिला सदस्य, दुई हजार ५५१ दलित महिला सदस्य र पाँच हजार ३०७ खुला सदस्य विजय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *