काठमाडौं । चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको घोषणा गरेपछि विभिन्न समयमा स्वदेश फर्किएका थिए ।
तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना विद्यार्थी स्वदेश फर्केकाथिए । स्वदेश फर्किएका विद्यार्थीमध्ये एमबीबीएस, एमडी, इन्जिनियरिङ, भाषा, विद्यावारिधि तथा सामान्य धारका विषयमा अध्ययनरत थिए ।
स्वदेश फिर्ता भएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जनाको सूची तयार गरेर पुनः भिसा प्राप्तिको लागि आवश्यक प्रक्रिया सुरु गर्न मन्त्रालयले आह्वान गरेको छ । पहिलो चरणमा चीन फर्काउन लागिएका विद्यार्थीले एमबीबीएस, एमडी र क्लिनिकल विषयमा विद्यावारिधि शोध गरिरहेकाहरू छन् ।
अध्ययन गर्ने विषयको प्रकृतिको आधारमा चिनियाँ सरकारले सम्बन्धित विश्वविद्यालयबाट खोजेर ती विद्यार्थीको नाम नेपाल सरकारलाई पठाएको थियो । ती विद्यार्थीले सम्बन्धित विश्वविद्यालयमा गएर इन्टर्नसिप तथा अन्य प्रयोगात्मक कार्य गर्नुपर्ने हुन्छ । शिक्षा मन्त्रालयका सहसचिव डा. कमल पोखरेलले चीन सरकारबाट अध्ययन निरन्तरताको लागि जानकारी प्राप्त भइसकेकाले विद्यार्थीको सूची नै सार्वजनिक गरेर अविलम्ब प्रवेशाज्ञा प्रक्रिया सुरु गर्न आह्वान गरिएको जानकारी दिए ।
उनका अनुसार ती विद्यार्थीलाई सकेसम्म छिटो चीन पठाउनुपर्नेछ ।प्रवेशाज्ञा प्रक्रिया सुरु गर्न चीन सरकारले भने पनि विद्यार्थीको विमान खर्च तथा चीन पुगेर क्वारेन्टिनमा बस्नुपर्दा लाग्ने खर्च विद्यार्थीले नै बेहोर्नुपर्ने छ । तर यसबारे आधिकारिक निर्णय नभएको मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।