सेनाको हेलिकप्टर मनमोहन प्राविधिक विश्वविद्यालयलाई

काठमाडौँ । नेपाली सेनाले ग्राउण्डेड र प्रयोगबिहीन अवस्थामा रहेको उसको हेलिकप्टर मनमोहन प्राविधिक विश्वविद्यालयलाई दिएको छ । विश्वविद्यालयको रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङ्गका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि उपयोगी हुने भन्दै सेनाले उडान समयावधि पूरा गरेको हेलिकप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपूर्जाहरु हस्तान्तरण गरेको हो ।

नेपाली सेना सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई गौचरस्थित मध्यएयर वेशमा आयोजित कार्यक्रममा सो हेलिकप्टर हस्तान्तरण गरेका हुन् ।

बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडमा बनेको उक्त हेलिकप्टर भारत सरकारले २०५८ मंसिर २६ गते नेपाली सेनालाई अनुदानमा उपलब्ध गराएको थियो । निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि पुरा गरेपछि हेलिकप्टर ग्राउन्डेड अवस्थामा रहेको थियो ।

विश्वविद्यालयले यसै आर्थिक वर्ष ०७८/७९ बाट रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङ्गको कक्षा सञ्चालन गर्न लागेको छ । नेपाली सेनाको स्वामित्वमा प्रयोगबिहिन अवस्थामा रहेको सो हेलिकप्टर रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङ्गको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीकाे प्रयोगात्मक अभ्यासका लागि उपयोगी हुने विश्वास सेनाको छ ।

हेलिकप्टर र त्यसमा प्रयोग हुने केही जगेडा सामग्रीहरु प्राप्त गरेपश्चात मनमोहन प्राविधिक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने बताइएको छ । भविष्यमा पनि हवाई साधन मर्मत तथा उडानसम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप अभिवृद्धिका लागि उपयाेगी हुने अध्ययन सामग्रीहरु हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गेललगायत अन्य पदाधिकारीहरु, मेडिकल शिक्षा समन्वय अधिकृत र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *