‘गठबन्धनको विकल्प छैन’

काठमाडौं। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि मुलुकको ध्यान प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतर्फ केन्द्रित भएको छ । सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म गठबन्धनलाई अझ प्रभावकारी बनाउन जुटेका छन् ।

स्थानीय तहको निर्वाचनमा भएको चुनावी तालमेल अभूतपूर्व सफल भएको निष्कर्षसहित प्रतिनिधि सभाको निर्वाचनमा अझ सशक्त रूपमा लाग्ने गरी पाँच दलका नेताहरूले आन्तरिक र पार्टीगत परामर्श सुरु गरेका हुन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको थियो ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय ‘वाम–लोकतान्त्रिक गठबन्धन’लाई अझ प्रभावकारी बनाएर आगामी निर्वाचनसम्म लैजाने प्रस्ट पारे ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनको परिणामले पाँच दलको चुनावी गठबन्धनको औचित्य पुष्टि भएको बताए।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आउने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनले निरन्तरता पाउने बताए ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले स्थानीय तह एकै चरणमा सम्पन्न भएकाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि एकै चरणमा सम्पन्न गर्न सम्भव रहेको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *