कैलालीका उद्योगी व्यवसायीहरु पनि आन्दोलित

कैलाली । कैलालीको गेटामा भौतिक संरचना निर्माण भएको मेडिकल कलेज यसै वर्षदेखि सञ्चालनको माग गर्दै पाँच दिनदेखि जारी सडक आन्दोलनमा कैलालीका उद्योगी, व्यवसायीहरु पनि उत्रिएका छन् ।

यस क्रममा कैलाली उद्योग बाणिज्य सङ्घको आह्वानमा शनिबार बिहान धनगढीमा बृहत् विरोध प्रदर्शन तथा सभा भएको छ । धनगढी ट्राफिक चौराहबाट निस्किएको विरोध र्याली झण्डै डेढ किलोमिटर बजार परिक्रमा गरेर विरोध सभामा परिणत भएको थियो ।

संघीय संसदको चालु अधिवेशनबाटै मेडिकल कलेजको कानुनि हैसियत स्पष्ट गर्न आवश्यक विधेयक पारित गर, सुदूरपश्चिमेली जनताको विशेषज्ञ स्वास्थ्य पाउने अधिकार सुनिश्चित गर, सुलभ र सहज रुपमा चिकित्साशास्त्र अध्ययन गर्ने अधिकारको ग्यारेन्टी गर, लगायतका पोष्टरहरु छातीमा टाँसेर सहभागीहरुले प्रदर्शन गरेका थिए ।

विरोध र्याली तथा सभामा उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, विद्यार्थी, कानुन व्यवसायी, अधिकारकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

२०५६ सालदेखि चर्चामा रहेको र ०६५ सालदेखि विस्तृत अध्ययन, जग्गाप्राप्ती, नीतिगत प्रबन्ध प्रक्रिया अघि बढाइएको गेटा मेडिकल कलेजलाई ०६८ सालतिर स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने बहस शुरु भएको थियो ।

आर्थिक वर्ष ०७३र०७४ बाट प्रस्तावित गेटा मेडिकल कलेज भौतिक पूर्वाधार विकास समिति गठन गरेर भौतिक संरचना निर्माण कार्य अघि बढाइएको थियो । हालसम्म ३५ वटा भवन निर्माण भइसकेका छन् ।

करिब साढे चार अर्ब रुपैयाँ लगानी भइसकेको गेटा मेडिकल कलेजमा करिब ९२ प्रतिशत निर्माण कार्य पुरा भइसकेको छ । तर, सरकारले अहिलेसम्म यो संस्थालाई मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा स्वास्थ्य विश्वविद्यालय, कुन मोडेलमा सञ्चालन गर्ने भन्नेमा कुनै नीतिगत निर्णय गरिसकेको छैन । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *