आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम : दोहोरिए ‘सपनाका पुलिन्दा’

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्ववर्ती सरकारले ल्याएका कतिपय कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम घोषणा गरिएको छ ।

पूर्ववर्ती सरकारले अघि सारेको रेल र पानीजहाज चलाउने योजनालाई ‘सपनाको पुलिन्दा’ भन्दै आएको वर्तमान सरकारको नीति तथा कार्यक्रममा पनि यस्ता बुँदा छन् । रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा वीरगञ्ज–काठमाडौं र काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नेपालका नदीहरूमा आन्तरिक जल यातायातको सम्भाव्यता पहिचान र विकास गरिने भनिएको छ । सरकारले आगामी वर्ष थप ८०० किलोमीटर सडक निर्माण र २५७ किलोमीटर स्तरोन्नति गर्ने घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा पूँजीगत खर्च बढाउन छुट्टै नीति ल्याउनेदेखि आगामी वर्ष सामाजिक सञ्जाललाई नियमन गरी करको दायरामा ल्याउनेसम्मका विषय छन् ।

नीति तथा कार्यक्रमका प्रमुख बुँदा

राष्ट्रिय गौरव र रणनीतिकबाहेकका आयोजना प्रदेशलाई हस्तान्तरण
कर प्रणाली पुनरवलोकन
१ वर्षभित्र क्रेडिट रेटिङ
घरजग्गा कारोबार विशिष्टीकृत संस्थाबाट मात्रै
तोकिएका उद्योगको जग्गा हदबन्दीमा सुधार
विदेशी लगानी आकर्षित गर्न उद्योग, वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट सञ्चालन
‘हाउस पुलिङ’बाट शहरको पुनरुत्थान
उपत्यकामा नयाँ शहर विस्तार
प्रधानमन्त्री उत्पादन तथा उपभोग कार्यक्रम
एक वर्षपछि निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण शुरू
एक वर्षमा ८०० किलोमीटर सडक विस्तार
विद्युत् महसुल दरमा पुनरवलोकन
आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *