कतै शपथ, कतै परिणामकै प्रतीक्षा

काठमाडौं। स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो । तर, देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको अन्तिम मत परिणाम निर्वाचन सम्पन्न भएको ८औं दिनमा पनि आएको छैन ।

देशका ७ सय ५३ स्थानीय तहमा एकैपटक नयाँ नेतृत्व चयनका लागि ३० वैशाखमा भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ३५ हजार २ सय २१ जना चुनिनेछन् ।

शुक्रबार राति अबेरसम्म ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७० स्थानीय तहको अन्तिम परिणाम आएको छ । तीमध्ये ८५ प्रतिशत बढी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ सम्पन्न गरी शुक्रबारबाटै जिम्मेवारीसमेत सम्हालेका छन् । परिणाम घोषणा हुन बाँकी स्थानीय तहका उम्मेदवार प्रतीक्षामै छन् । देशका ६ महानगर र ११ उपमहानगरमध्ये काठमाडौं, ललितपुरसहितका केहीमा मतगणना कछुवा गतिमा छ ।

संवैधानिक व्यवस्थाअनुसार भने स्थानीय तहमा जनप्रतिनिधि रिक्त भइसकेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि शुक्रबारबाटै सकिएको हो । उनीहरूका स्थानमा जनप्रतिनिधि पूर्ति हुन अझै केही दिन लाग्ने देखिन्छ ।

२०७४ मा ३१ वैशाख, १४ असार र २ असोजमा गरी तीन चरणमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कानुनमा भएको व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ । आयोगले ती फरक फरक मितिमा निर्वाचित जनप्रतिनिधिहरूको पदावधि सकिने मिति ५ जेठलाई मान्दै आएको थियो ।

संविधानको धारा २१५ को उपधारा ६ मा भने गाउँपालिकार्को अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने’ उल्लेख छ ।

यसैगरी, धारा २१६ को उपधारा ६ मा नगरपालिकाको ‘प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ’ भन्ने उल्लेख छ ।

संविधानका यी दुवै धारामा भएका व्यवस्थाअनुसार २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा भएका हुन् ।

आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार साँझसम्म करिब ९० प्रतिशत स्थानीय तहको अन्तिम परिणाम आएको र बाँकीमा पनि मतगणना छिटो सम्पन्न गर्न निर्देशन भएको जानकारी दिए ।

उनका अनुसार अछामको साँफेबगर नगरपालिकामा शुक्रबार मात्रै मतदान भएको छ । यस्तै, बाजुराको बूढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने विषयमा विवाद हुँदा अझै पनि गणना सुरु हुन नसकेको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *