सुर्खेतको भेरीगङ्गामा एमाले, चौकुनेमा माओवादी विजयी

कर्णाली । सुर्खेतको भेरीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांगे्रस–नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा एमालेका यज्ञप्रसाद ढकाल र उपप्रमुख पदमा धनसरा बोहरा निर्वाचित भएका हुन् ।

ढकालले १० हजार २२ र उनका निकटतम प्रतिद्वन्द्वी कांगे्रसका रामबहादुर सिंहले नौ हजार ७९७ मत प्राप्त गरे । उपप्रमुखमा विजयी बोहराले नौ हजार ६१४ र उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरेन्द्रबहादुर कार्कीले आठ हजार ९१३ मत प्राप्त गरे । भेरीगङ्गामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख–उपप्रमुख दुवै पद कांगे्रसले जित हासिल गरेको थियो ।

पश्चिम सुर्खेतमा पर्ने चौकुने गाउँपालिकामा कांगे्रस–माओवादी केन्द्रका साझा उम्मदेवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका खड्क विक र उपाध्यक्षमा कांगे्रसका नरबहादुर बान्तोला निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित विकले एमालेका हरिप्रसाद अधिकारीलाई दुई हजार मत अन्तरले पराजित गर्दै पाँच हजार ४७६ मतले विजयी भए ।

अधिकारीले तीन हजार ४१४ मत प्राप्त गरे । उपाध्यक्षमा विजयी बान्तोलाले चार हजार ७९१ तथा उनका निकटतम प्रतिद्वन्द्वी निर्मला राना मगरले तीन हजार नौ मत प्राप्त गरे । राना निवर्तमान उपाध्यक्ष हुन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमाले विजयी भएको थियो । जिल्लाका नौमध्ये वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकामा मत परिणाम सार्वजनिक हुन बाँकी छ । त्यहाँ मतगणना जारी छ । दुवै गाउँपालिकाको मुख्य पदमा एमालेको अग्रता कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *