रघुगङ्गाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी केन्द्रकी मीना विकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत पाएका छन् ।

आठ वटा वडा रहेको रघुगङ्गाको पाँच वटा वडा कांग्रेस र तीन वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । रघुगङ्गा–१ बेगमा कांग्रेसका बिलबहादुर फगामी, २ भगवतीमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा कांग्रेसका पविन गर्बुजा, ५ झिँमा कांग्रेसका मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा (रिम) र ८ कुइनेमङ्गलेमा कांग्रेसका गमान छन्त्याल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

१३ हजार ९४७ मतदाता रहेको रघुगङ्गामा ६५ प्रतिशत अथवा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित हुने ४२ पदका लागि १३५ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । जिल्लाको छ वटामध्ये दुई वटा स्थानीय तह र ३० वटा वडाको मतगणना सकिएको छ ।

मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएकी छन् । मतपरिणाम सार्वजनिक भएका ३० वटा वडामध्ये एमालेले १३, कांग्रेसले १२ र माओवादीले चार वटा वडामा जित हासिल गरेका छन् । अब १५ वटा वडा र चार वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *