प्रज्ञा र करुणाका अनगिन्ती फूलहरु सबैका हृदयहरुमा फुलून्ः छोक्यी न्यीमा रिन्पोछे

अनिरोधमनुत्पादम् अनुच्छेदमशास्वतम् ।
अनेकार्थमनानार्थम् अनागममनिर्गमम् ।।
यः प्रतीत्यसमुत्पादं प्रपञ्चोशमं शिवम् ।
देशयामास सम्बुद्धस्तं वन्दे वदतां वरम् ।।

आर्य नागार्जुनले लेख्नु भएको यो श्लोकबाट हाम्रा शास्ता सम्यकसंबुद्ध शाक्यमुनिलाई उहाँको पवित्र जन्मस्थल लुम्बिनी उपवनमा बुद्धजयन्तीको दिनमा वन्दना गर्छु । अमूल्य तथा विमल त्रिरत्नले हामी सबैलाई अधिष्ठित गरुन् ।
उक्त उपवनमा अद्भूत रुपमा जन्म लिइसकेपछि युवा बोधिसत्व राजकुमारको रुपमा भव्यताकासाथ हुर्कनुभयो । राजकीय भव्यता र पूर्णताका साथ जन्म लिए पनि युवा राजकुमार सिद्धार्थलाई अनित्यताको दुःखद् वास्तविकताले विचलित गरायो । रातको अन्धकारमा कपिलवस्तुको राजप्रासादलाई त्यागेर परम प्रज्ञा र वस्तुहरुको यथार्थ स्थितिको बोधको खोजीमा लाग्नु भयो । सामान्य सन्न्यासीको जीवन यापन गर्दै बोधि र प्रज्ञा प्राप्त गर्न त्यस बेलाका सबभन्दा विख्यात र प्रभावशाली गुरुहरुको सङ्गत गर्नुभयो । बोधिसत्व असन्तुष्ट भएर उहाँको चित्तोत्पादको कारुणिक र बोधिप्रति प्रतिबद्ध प्रेरणालाई कायम राख्नुभयो । वर्षौँसम्मको कठोर तपस्यापछि नैरञ्जना नदीको किनारमा आएर बोधिमण्डमा आसन ग्रहण गर्नुभयो । बोधिवृक्षद्वारा मारहरुका छलहरुलाई पराजित गरेर बिहानी पख अनुत्तर सम्यक संबोधि प्रदर्शन गर्दै बुद्ध बन्नु भयो । बोधि प्राप्त हुने बित्तिकै यथार्थ ज्ञानको अद्भूतपना तथा संसारप्रतिको करुणा व्यक्त गर्दै यस्तो भन्नु भयोः–

“गम्भीर, शान्त, विमल, स्पष्ट र असंस्कृत
यस्तो अमृततुल्य सत्यको बोध मलाई भएको छ ।
यसको बारेमा बताउँदा कसैले पनि बुझ्दैनन्
त्यसैले वनमा मौन रुपमा रहन्छु ।”

त्यसो भएता पनि ठूलो संख्यामा देवगणसहित ब्रम्हा र शक्र देवहरु बुद्ध समक्ष आएर पूजा गरे र उहाँको मोक्षदायी प्रज्ञा संसारलाई प्रदान गर्न अनुरोध गरे । उनीहरुको प्रार्थना तथा अफ्नै करुणामय प्रतिज्ञामा आधारित भएर धर्मचक्र प्रवर्तन गर्न तयार हुनुभयो । वाराणसी नजिकैको सारनाथस्थित मृगदाव वनमा चार आर्य सत्यसँग सम्बन्धित पहिलो धर्मचक्र प्रवर्तन गर्नुभयो भने राजगृह स्थित गृध्रकुट पर्वतमा लक्षण रहिततको विषयमा दोस्रो धर्मचक्र प्रर्वतन गर्नुभयो । त्यस्तै श्रावस्ती लगायतका स्थानहरुमा राम्रोसँग जाँचिएको तेस्रो धर्मचक्र प्रर्वतन गर्नुभयो । शान्ति र अहिंसाको मार्ग तथा अनात्म र प्रतीत्यसमुत्पादको दृष्टिलाई कुशलतापूर्वक अनगिन्ती व्यक्तिहरुलाई दर्शाएर हाम्रा शास्ता बुद्धले कुशीनगरमा महापरिनिर्वाण दर्शाएर बोधि चर्याको लीलालाई पूर्ण गर्नुभयो ।

आर्य नागार्जुनले बताए झैँ बुद्ध शान्तिका वास्तविक गुरु हुनुहुन्छ । उहाँका प्रतीत्यसमुत्पाद विषयका गम्भीर उपदेशहरुलाई राम्रोसँग सुन्ने, चिन्तन गर्ने र अनुभव गर्ने हो भने हामी सबैले वास्तविक शान्ति, मेलमिलाप र प्रज्ञापारमिता पत्ता लगाउन सक्छौँ । हाम्रा भगवान् बुद्धले खुला र विवेचनात्मक चित्तसहितका उहाँका उपदेशहरु पाउनका लागि गरिएको प्रेरणालाई हेरौँ । बुद्ध भन्नु हुन्छ , “मेरा शब्दहरुको राम्रोसँग परीक्षण गर । जसरी सुनको काम गर्ने मान्छेले सुनलाई जाँचेर परीक्षण गर्छ , त्यसै गरी मेरा उपदेशहरुको महत्वलाई हेरेर जाँचेर मात्र स्वीकार गर ।” त्यसो भए बुद्धले हामीलाई के सिकाउनु हुन्छ त ? उहाँको सन्देश के हो र उहाँका उपदेशहरुको अनुशरण गरेर विशेष कुरा के पाइन्छ त ? बुद्धले सुझाए झैँ यी कुराहरुलाई खुला र विवेचनात्मक चित्तद्वारा विश्लेषण गरौँ न त ।

देवहरुको अनुरोधको उत्तर दिनेक्रममा बुद्धले पढाउन थाल्दा उहाँको पहिलो शब्द नै दुःख थियो । कोही पनि दुःख चाहदैन । तैपनि संसारका हरेक प्राणीहरुले बारम्बार दुःख नै भोग्नु परिरहेको छ । जति नै शक्तिशाली, धनी, सम्मानित र सफल व्यक्ति भए पनि दुःखबाट भाग्न सक्ने कोही पनि छैन किनकि अनित्यताबाट कोही पनि भाग्न सक्दैन । हेतु र प्रत्ययबाट पैदा भएका सबै कुरा केवल क्षणिक हुन् । त्यसैले साँच्चिकै भर पर्न लायक केही पनि छैन । हामीले पूर्ण रुपमा विश्वास गर्न योग्य कुरा केही पनि छैन । उच्च स्तरका हुन् वा निम्न स्तरका हुन् कुनै पनि भौँतारिएका प्राणी दुःख र दुर्भाग्यबाट सुरक्षित छैनन् । हामीलाई सबैभन्दा सुखी जस्ता लाग्ने व्यक्तिहरु पनि निरन्तर वेचैनी र त्राशमा बाँचेका पाउन सक्छौँ । बुद्धले बताएअनुसार हामीले निर्माण गरेका हरेक वस्तु ढिलो होस् वा चाँडो भत्कन्छन् । हामीले जम्मा पार्न सफल भएका कुरा कुनै पनि बेला रित्तिन सक्छन् । हामीले भेटेका र सँगै रहन चाहेका व्यक्तिहरुसँग छुट्टिनै पर्ने हुन्छ । जन्मको अन्त सधैँ मृत्यु नै हुन्छ । यिनीहरु तथ्य नै भए पनि दुःखद सोचहरु नै हुन् भनी बुझ्नुपर्छ । यी तथ्यहरुलाई स्वीकार गरेर ख्याल गर्नुपर्दछ । वास्तवमा हाम्रो मनमा यी दुःखद घटनाहरुमा रहने अनित्य र दुःख कसैले पनि ल्याइदिएका हैनन् । अर्को तर्फ यदि हामीले यस्ता यथार्थ तथ्यहरुलाई स्वीकार्न थाल्यौँ भने तिनीहरुको पछाडि के रहेको छ र कुन कारणले यस्तो भएको हो भन्ने बारेमा पत्ता लगाउन थाल्छौँ । बुद्धले सिकाउनु भएको छ कि हामीलाई दुःख हुँदा त्यो संसारलाई सञ्चालन गर्ने कुनै दैवी शक्तिको कारणले भएको हैन । त्यस्तै दुःख भनेको प्रकृतिको जोगिनै नसकिने अंश पनि हैन । बुद्धले बताएअनुसार हामीले यसलाई होशियारीपूर्वक केलाउँदा पाँउछौँ कि दुःखको निर्माता त अविद्या र अकुशल बानीहरुले युक्त भएको हाम्रो आफ्नै चित्त रहेछ । यस्तो अन्तरदृष्टिबाट अपारमात्रामा सशक्तिकरणको भाव पैदा हुन्छ । जब हामीलाई थाहा हुन्छ कि यही चित्तले दुःख सिर्जना गरेको रहेछ तब हामी यो परिस्थितिको अभिभारा हामी आफैँले लिन थाल्छौँ र अरुलाई पनि स्वस्थ र खुसी हुन सहयोग गर्न थाल्छौँ । हाम्रो आफ्नाे र अरुहरुको उपचार र रुपान्तरण नै धर्मको मार्ग बारेको सबथोक हो ।

कुनै पनि अकुशल कर्म नगर ।
कुशल कर्मको पूर्णरुपमा अभ्यास गर ।
र आफ्नो चित्तलाई आफैले वसमा राख ।
यही नै बुद्धको उपदेश हो ।

बुद्धका उपदेशहरुको अनुशरण गर्नु भनेको तीन शारीरिक, चार वाचिक र तीन मानसिक गरी दश अकुशल कर्महरु गर्नबाट जोगिनु हो । हाम्रा शास्ता बुद्धको अनुयायी भएको नाताले हाम्रो जीउबाट अरु प्राणीहरुलाई मार्ने, हामीलाई नदिएका चिजहरु लिने र यौन व्यभिचार गर्ने जस्ता कायिक अकुशल कर्महरु गर्नु हुँदैन । वाचिक अकुशल कर्महरुबाट बच्न झूठो बोल्न हुँदैन, कडा शब्द प्रयोग गरेर बोल्नु हुँदैन, अरुको बीचमा फाटो ल्याउने गरी बोल्नु हुँदैन र निरर्थक वातचित गर्नबाट जोगिनुपर्छ । अन्तमा हाम्रो मनलाई अकुशल हुनबाट बचाउन लोभ, कुविचार र मिथ्यादृष्टिलाई त्याग्नु पर्छ ।

त्यसै गरी हामीलाई ‘कुशल कर्मलाई पूर्ण रुपमा अभ्यास गर ।’ भनिएको छ । तसर्थ हामी दश अकुशल कर्महरु गर्नबाट बच्ने मात्र नभई हामीले तिनीहरुका प्रतिपक्षी दश कुशल कर्महरुको अभ्यास गर्नै पर्छ । हत्या गर्नुको साटो हामीले अरुहरुको ज्यान जोगाउनु र बचाउनुपर्छ । अरुले नदिएका कुराहरु लिनुको साटो दान दिने अभ्यास गर्नुपर्छ । यौन व्यभिचारमा लाग्नुको साटो कुशल काम गरी नैतिकतामा रहनुपर्छ । त्यसै गरी चार प्रकारका अकुशल बोलिहरु बोल्नबाट बचेर सत्य बोल्नुपर्छ, नम्र बोलि बोल्नु पर्छ मानिसहरुलाई मिलाउने र जुटाउने खालको बोलि बोल्नु पर्छ । साथै सार्थक र आधिकारिक बोलि बोल्नु पर्छ ।
त्यसै गरी अन्तमा तीन प्रकारका मानसिक अकुशलताहरुबाट बचेर अरुहरुको सफलतामा अनुमोदन गर्नु पर्छ, अरुहरुको हेरविचार गर्नु पर्छ र वस्तुहरु जस्ता छन् त्यस्तै अवस्थामा बुझ्ने बोधको विकास गर्नु पर्दछ । अकुशल कर्महरुबाट बच्ने र कुशल कर्महरुमा लाग्ने यी अभ्यासहरुबाट विस्तारै हामीलाई आफ्नो चित्त तह लगाउने अवसर प्राप्त हुन्छ । यसरी शमथ र विपश्यनाका अभ्यासहरुबाट हामीले अनादि कालदेखि गर्दै आएका अकुशल कर्महरु र अविद्याको चलिरहेका प्रक्रियाहरुलाई पूर्ण रुपमा तोडेर विमोक्ष र बोधि प्राप्त गर्दै आफ्नो र अरुहरुको लक्ष्यहरु पूरा गर्न सक्छौँ ।

विपन्नता, पीडा र मृत्युहरु अन्धतृष्णा र द्वेषप्रतिको मनको बानी (लगाव) का कारणले हुने गर्दछन् । दुःखका कारण र असरहरुको प्रतीत्य समुत्पाद केहीमा आधारित नभएर एउटा भ्रममा आधारित हुन्छ । धर्मका पवित्र शब्दहरुले मनका सबै तानावाना (प्रपञ्च) हरु भन्दा परको गम्भीर शून्यता मार्गलाई उजागर गर्दछन् । त्यसै गरी युक्ति मार्गद्वारा तिनीहरुको सत्यतालाई उत्तम र अभेद्य प्रज्ञा चक्षुद्वारा देख्न सकिन्छ । जसरी एउटा विरुवा वीउमा आधारित हुन्छ त्यसरी नै हरेक कुरा अर्का कुरामा आधारित भएर देखा पर्छन् । त्यसै गरी अर्का थरी पनि अरु अर्का थरीमा आधारित हुन्छन् । तिनीहरु पनि अर्कै अर्कै कुराहरुमा आधारित हुन्छन् । यो क्रम अनन्त सम्मै चली रहन्छ । यदि हामीले अझ नजिकबाट हेर्यौँ भने हामीले पत्ता लगाउँछौँ कि निर्भरता र सम्भावना अर्थात प्रतत्यि समुत्पादको सामान्य जस्तो लाग्ने तथ्य हामीले भोगेका वा अनुभव गरेका हरेक कुराहरुमा पूर्ण रुपमा लागू भएको हुन्छ । आफैँ वा आफ्नाे प्रकृतिको कारणले केही पनि देखा पर्दैन अर्थात अस्तित्वमा आउँदैन । कुनै पनि कुराको अस्तित्व र पहिचान अर्कै कुराबाट आउँछ । उद्गमको खोजी वा धरातलीय सत्य सिद्धान्तत यही क्रममा हुन्छ । हरेक पल्ट कुनै नयाँ कुरा, अझ बढी कुरा पत्ता लगाउनु पर्ने, ख्याल गर्नु पर्ने र परीक्षण गर्नु पर्ने हुन्छ । अझ भन्ने हो भने सबै कुराहरु सापेक्ष छन् भन्ने कुरा पनि गम्भीर शून्यताको तथ्य हो । केही नभएको कुरा आफैँमा केही कुरा हो र यो मामिला संसारको अर्को तथ्यको रुपमा स्वीकार गर्ने अवस्था हो । तर एउटाको शून्यता सबैको शून्यता हो । यो कुरालाई हृदयङ्गम गर्दा प्रतीत्यसमुत्पादको यो अन्तरदृष्टिले आफु र अरु सबैलाई अपार मात्राको गम्भीर र शुभ अवस्थाहरु ल्याउँछ ।

उत्पाद र निरोध, आउने र जाने, नित्यता र विनाश, आफू र अरु जस्ता सबै कुरा पहिलो दृष्टिमा ठोस रुपमा र अपरिहार्य रुपमा वास्तविक लागे पनि जब हामीले प्रज्ञाको चक्षु खोल्छौँ तब सपना वा जादूको भ्रम जस्तै देखिन थाल्छन् सत्य र ठोस ठानिएका कुराहरु जीवन्त रुपमा देखा परे झैँ लागेका कुराहरु एकाएक अवास्तविक लाग्न थाल्छन् । यो अन्तरदृष्टिले मनलाई ढाकेका विचार र संवेगहरुको बन्धनबाट मुक्त गर्दछ । बुद्धले बताए झैँ प्रतीत्यसमुत्पादका दृष्यहरु तथा तिनीहरुको गम्भीर शून्यता प्रकृतिको युगनद्धताको साक्षी बन्न पुग्छौँ । प्रज्ञापारमिता सूत्रहरुमा यस्तो बताइएको छ – ‘रुपम् शून्यता, शून्यतैव रुपम । रुपान्न पृथग शून्यता शून्यतया न पृथग रुपम ।’ अन्तमा जसरी चिस्यानलाई पानीबाट अलग पार्न सकिन्न त्यसरी नै वर्तमान पहिचान वा विचार पनि सम्पूण धर्महरुको अनन्त धातुबाट अर्को हैन । तसर्थ शून्यता सम्पूर्ण दृष्यहरुको स्वभाव र आवश्यक परिस्थिति हो ।
बुद्धले हामीलाई संसारको दुःखद र प्रतीत्यसमुत्पन्न तथ्यहरुलाई स्वीकार्न र त्यसको आधारमा प्रतीत्यसमुत्पादको वास्तविक स्वभाव जुन शब्द र विचार भन्दा परको शून्यता हो त्यसलाई पत्ता लगाउन प्रेरित गर्नु हुन्छ । यदि हामीले आफूमा उहाँका उदेशहरुलाई विवेचनात्मक रुपमा जाँच्न छाडी दियौँ भने हामीले अपरिहार्य सत्य र आधिकारिकता पत्ता लगाउने छौँ । जुन एउटा अद्भूत तथ्य हो । यसरी गम्भीर र दृढ निश्चय प्राप्त गरे पछि बुद्ध र वहाँका उपदेशहरुप्रतिको श्रद्धा र भक्ति बदलिने छ र पूर्ण हुने छ । श्रद्धा, करुणा र यथार्थ अन्तदृष्टिले युक्त भएर एक बोधिसत्व अचिन्त्यको द्वारमा प्रवेश गर्छ । दृष्य र शून्यताको स्वभाविकतालाई बोध गरेर भवसागरको दुःखद संसारबाट छिट्टै र सजिलैसँग पार हुने यात्रामा लाग्दछ । ज्ञान चित्तको अपरिमित सम्पत्ति पत्ता लगाएर एक आर्यले अरुहरुको हितको लागि महाकरुणाका उपायहरु निर्भयताका साथ प्रयोग गर्नेछ । अरुहरुको हितका लागि अनगिन्ती रुपहरुमा प्रवेश गरेर सम्पूर्ण बुद्ध र बोधिसत्वहरुको विश्वव्यापी क्रियाकलापमा आबद्ध भएर प्राणीहरुलाई दुःखबाट मोक्षको संवृद्ध र कृपालु महाद्वीपमा पुर्याउँछ । अटुट दुःखबाट स्थायी र वास्तविक सुखमा पुग्ने यात्रा कुनै ठाउँको साँच्चिकै भ्रमण गरेको मात्र हैन । वस्तुहरुको यथार्थ स्वभाव अर्थात गम्भीर यथार्थतालाई देख्दा पहिले नै मार्ग पार गरिसकेका हुन्छौँ ।

आज बुद्धका गम्भीर सम्पदालाई विश्वमा फैलाउन विश्वास गरिएका सम्मानित राष्ट्रप्रमुखहरुको भगवान् बुद्धले पहिलो पल्ट धरतीमा पाइला टेकेको स्थानमा भेट हुँदैछ । यो सुखद् र मंगलमय भेटलाई सोचेर म प्रार्थना गर्दछु कि शान्ति धर्मको उज्ज्वल सूर्यले आफ्नो मोक्षदायी ज्योति संसारभर फैलियोस् तथा प्रज्ञा र करुणाका अनगिन्ती फूलहरु हामी सबैका हृदयहरुमा फुलून् ।
बुद्ध जयन्तीको शुभ अवसरमा छोक्यी न्यीमा रिन्पोछेद्वारा जेठ २, २०७९ मा समर्पित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *